२६ असार, काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
कोटेश्वरस्थित नेपाल निवासमा आज बिहान भेटवार्ता भएको नेपालनिकट स्रोतले जनाएको छ । एमाले कार्यदलले आज एकता सम्झौता गर्ने तयारी गरेका बेला नेपाल र प्रचण्डबीच छलफल भएको हो ।
एमाले एकताका लागि नेपाल र ओलीपक्षका नेताहरूको कार्यदलले सहमतिको प्रारुप लगभग तयार भएको अन्तिम चरणमा पुगेको बताइरहेको बेला नेपाल र दाहालबिच भएको भेटलाई चासोका साथ हेरिएको छ । एमाले कार्यदलकै पहलमा यसअघि नेता नेपाल एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भएको थियो ।
त्यसपछि कार्यदलले सहमतीको खाका तयार पारेको र आजको बैठकबाट त्यसलाई मुर्त रुप दिने बताईरहेका बेला प्रचण्ड नेता नेपाललाई भेट्न उहाँकै निवार कोटेश्वर जानुभएको हो ।