काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त संस्था लिमिटेडले आईपिओ बिक्री गर्ने भएको छ । यसका लागि बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ । कम्पनीले ३.९५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने जनाएको हो ।
सिवाईसी र ग्लोबल आईएमई क्यापिटलबीच सम्झौतापत्रमा सिवाईसी नेपाल लघुवित्तका प्रबन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्मा र ग्लोबल आइएमई क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत पराग बिष्टले हस्ताक्षर गरेका छन्।
बागलुङ जिल्लाको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेकोे राष्ट्रियस्तरको यो लघुवित्तले हालैमात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालिग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई प्राप्ति गरेको छ । प्राप्तिपश्चात संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ३७.०४ रुपैयाँ रहेको छ। संस्थापक समूहको ६७.५० प्रतिशत सेयर रहेको संस्थामा एउटा संस्थासहित ९९ जना संस्थापक सेयरधनीहरुबाट ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँबराबरको सेयरपुँजी चुक्ता भइसकेको छ।
संस्थाले हाल ३७ वटा शाखा कार्यालयमार्फत राष्ट्रियस्तरमा ४७ हजारभन्दा बढी विपन्न परिवारलाई समूहमा आबद्ध गरी वित्तीय सेवा दिँदै आइरहेको छ।