इंग्ल्याण्ड युरो २०२० को उपाधिको फाईनलमा प्रवेश गरेको छ । बिहीबार विहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई २ १ गोलले पराजित गर्दै इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल रह्यो ।
पहिलो ९० मिनेटको खेलमा दुबै टिम एक एक गोलको बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १०४ औँ मिनेटमा कप्तान ह्यारी केनले गरेको गोल इंग्यालण्डको जीतमा निर्णायक बन्यो ।
केनले प्रहार गरेको पेनाल्टीलाई डेनमार्कका गोल किपरले बचाउ गरेका थिए तर फर्किएको बलमा केनले पुनः पोष्टको दिशा दिएका थिए ।
डेनमार्कका जोकिम मुहले इंग्ल्यान्डका रहिम स्टर्लिङलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिने निर्णय गरेका थिए।
खेलको ३० मिनेटमा गोल गर्दै डेनमार्कले खेलमा अग्रता लिएको थियो। मिक्केल डमसगार्ड फ्रिकिकमा उत्कृष्ट गोल गर्दा इंग्ल्यान्ड दर्शक निराश बनेका थिए ।
तर ३९ मिनेटमा डेनमार्कले आत्माघाती गोल गरेपछि इंग्यालण्ड बराबरीमा पुग्न सफल रह्यो । बुकायो साकाको क्रस रोक्ने क्रममा डेनमार्कका साइमन केजारले आफ्नै पोस्टमा बल छिराउन पुगेका थिए।
अब उपाधिका लागि इंग्ल्यान्डले आइतबार राति इटालीसँग प्रतिस्पर्धा गर्नेछ।
इंग्ल्यान्डले युरो कपमा पहिलो पटक फाइनलमा पुगेको हो।
सन् १९६६ मा भएको विश्वकपको फाइनल खेलेपछि इंग्लिस फुटबल टिम अहिले सम्म ठूलो प्रतियोगीताको फाईनलमा पुग्न सकेको थिएन ।