काठमाडौं, असार २३ । नेपाल वायुसेवा निगम व्यवस्थापनले नेपाल सरकारको पूर्ण स्वामित्वमै निगमलाई राखिनुपर्ने धारणा सार्वजनिक गरेको छ ।
निगमलाई कम्पनीमा लैजान लागिएको भन्दै कर्मचारीहरु विरोधमा उत्रिएपछि बुधबार एक विज्ञप्ति निकाल्दै निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले सरकारको नीतिगत निर्णय पालनाका लागि केही निर्णय गरिएको भए पनि व्यवस्थापन निगमलाई नेपाल सरकारमातहत नै राख्नुपर्ने पक्षमा रहेको जनाउनुभएको हो ।
विज्ञप्तिमा निगम सञ्चालक समितिले नेपाल सरकार, अर्थमन्त्रालयको निर्देशन पालना गरेको र व्यवस्थापनले निगमको सञ्चालक समितिबाट प्राप्त निर्देशनको पालना मात्र गरेको उल्लेख गरिएको छ ।
निगममा कार्यरत कर्मचारीसम्बद्ध तीनवटै ट्रेड युनियनले गरिरहेको आन्दालनप्रति ध्यानाकर्षण भएको पौडेलले उल्लेख गर्नुभएको छ । कर्मचारीहरु भने सरकारले निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न लागेको भन्दै विरोधमा उत्रिएका छन् ।

