माथिल्लो तामाकोशी : मुलुकका लागि ‘गेमचेञ्जर’ आयोजना

माथिल्लो तामाकोशी : मुलुकका लागि ‘गेमचेञ्जर’ आयोजना

  • सोमवार, असार २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

कूूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएपछि मुलुकको अर्थतन्त्रमा के कस्तो प्रभाव पर्ला भन्ने आम मानिसको चासो रहेको छ ।

सोही चासोलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्नुभयो, “मुलुकको आर्थिक वृद्धिमा तामाकोशीले एक प्रतिशत बराबरको योगदान दिन्छ ।”

ऊर्जा क्षेत्रका जानकारका अनुसार एक युनिट बिजुलीले झण्डै रु ९० देखि रु १०० बराबरको प्रभाव पार्दछ । अर्थतन्त्रको विकास र विस्तारका लागि ऊर्जा आफैँमा महत्वपूर्ण स्रोत हो । यही स्रोतलाई आत्मसात् गर्दै अर्थमन्त्री पौडेलले तामाकोशीले अर्थतन्त्रमा पार्ने प्रभावका बारेमा चर्चा गर्नुभएको हो ।

झण्डै ११ वर्षमा आयोजना सम्पन्न भए पनि आगामी दिनमा यसले राष्ट्रिय रुपमा पार्ने सकारात्मक प्रभाव आफैँमा महत्वपूर्ण रहेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरमा भएको वृद्धि, प्राकृतिक विपद् तथा सीमा नाकामा भएको अवरोधलगायतका कारणले आयोजना तोकिएको समयमा पूरा हुन सकेन ।
शुरुआती तालिकाअनुसार २०७२ असारमा सम्पन्न हुनुपर्ने आयोजना अनेकन कारणले ढिला भए । समय र लागत बढ्दा आयोजनाले दिने प्रतिफलसमेत कम हुने हो कि भन्ने आशंका नीति निर्माता तथा आम लगानीकर्तामा देखा प¥यो ।

नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने यो आयोजनालाई ‘गेम चेञ्जर’ आयोजनाका रुपमा लिइन्छ । किनकी, नेपाली स्रोत र साधन प्रयोग गरेर निर्माण गरिएको हालसम्मकै ठूलो आयोजना माथिल्लो तामाकोशी नै हो । बिजुली बढी माग हुने समयमा कूल क्षमताअनुसार नै सञ्चालन गर्न सकिने यसको अर्को विशेषता हो ।

नेपालले ठूला परियोजना आफँै निर्माण गर्न सक्छ भन्ने आत्मविश्वास पैदा गर्न सो आयोजना सफल भएको छ । अर्थमन्त्री पौडेलका अनुसार माथिल्लो तामाकोशीले नेपालको जलविद्युत् विकासको इतिहासमा कोशेढुङ्गा गाडन सफल भएको छ । नेपाली पूँजीबाट निर्माण भएको आयोजनाको आफ्नै प्रकारको विशेषता रहेको उल्लेख गर्दै उहाँले यसले महत्वपूर्ण उपलब्धि दिँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

मुलुकको आर्थिक विकास तथा औद्योगिक उत्पादनका लागि समेत आयोजना महत्वपूर्ण रहेको स्पष्ट पार्दै उहाँले मुलुकभित्र भरपर्दो बिजुली प्रवाह गर्न यसले प्रत्यक्ष योगदान गर्ने बताउनुभयो । आयोजना नेपालका लागि आफैँमा एउटा महत्वपूर्ण पाठशाला भएको टिप्पणी गर्दै यसबाट प्राप्त भएका सकारात्मक र नकारात्मक दुवै विषयबाट शिक्षा लिएर आगामी दिनमा ऊर्जा क्षेत्रको विकासमा लाग्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “आयोजना सम्पन्न गरेर ऊर्जा क्षेत्रको विकासमा नयाँ फड्को हासिल गरेका छौ, आगामी दिनमा अझै नयाँ नयाँ कीर्तिमानी कायम गर्दै अगाडि बढ्नुपर्छ ।” विसं २०६७ मा मुख्य सिभिल निर्माण कार्य शुरु गरिएको आयोजनाको २०६८ जेठ ४ गते शिलान्यास गरिएको थियो । शिलान्यासदेखि आजका दिनसम्म आइपुग्न आयोजनाले अनेकन हण्डर र ठक्कर झेल्नुपरेको छ ।

‘गोरखा भूकम्प’ नै माथिल्लो तामाकोशीका लागि सबैभन्दा ठूलो समस्याका रुपमा देखाप¥यो । पहुँचमार्ग नै भत्कियो । लागत बढ्यो । शुरुमा २०७२ असारमै सम्पन्न गर्ने योजना रह पनि अनेकन कारणले गर्दा झण्डै छ वर्षपछि आयोजना बिजुली बाल्ने अवस्थामा आइपुगेको छ ।

राष्ट्रिय गौरवका परियोजनामध्ये मेलम्ची खानेपानी आयोजनापछि निर्माण सम्पन्न हुने दोस्रो परियोजनाका रुपमा यो रहेको छ । झण्डै रुग्ण अवस्थामा पुगेको आयोजनालाई नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले मेहनत गरेर एउटा लयमा ल्याउनुभएको हो ।

प्राकृतिक विपत्ति तथा कोरोना महामारी जस्ता कारणले आयोजनामा ढिलाइ भएको उहाँको अनुभव छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार माथिल्ल्लो तामाकोशीले देखाएको बाटो पहिल्याएर नेपालको जल विद्युत् क्षेत्रको विकास र विस्तारमा लाग्नुपर्ने छ । उहाँले भन्नुभयो, “नेपालीको पौरख, नेपालको गौरव शैलीमा काम गरियो भने हामी सफल हुन सक्छौँ भन्ने तामाकोशीले देखाएको छ ।” उहाँले मध्यम खालका उत्पादन क्षमता र लागतका जल विद्युत् आयोजना अब स्वदेशी लगानी, इञ्जिनीयरिङ र व्यवस्थापनबाट निर्माण गर्न सकिने आत्मविश्वास पैदा भएको बताउनुभयो ।

यस्ता आयोजना आफैँ बनाउनका लागि आँट र हिम्मत आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “चिलिमे मोडलमा बनेको यो आयोजना स्वदेशी इञ्जिनीयरिङमा बनाउन त्यो बेला हामीले आँट गरेनौँ तर आज यो आयोजना निर्माण सम्पन्न हुँदै गर्दा आगामी दिनमा स्वदेशी इञ्जिनीयरिङमा नै बनाउने आँट पलाइसकेको छ ।”

कार्यकारी निर्देशक शाक्यले कूल ४०० मेगावाट वरपरका बेतन कर्णाली जस्ता आयोजना स्वेदशी ढाँचा, लगानी र इञ्जिनीयरिङ तथा व्यवस्थापनबाट नै गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको आयोजनामा कूल छ युनिट छन् । त्यसमध्ये आज एउटा युनिट सञ्चालनमा आएको हो । बाँकी पाँच युनिट आगामी भदौभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । एउटा युनिटले ७६ मेगावाट बिजुली उत्पादन गर्दछ ।

नेपालमा जलविद्युत् इतिहासको झण्डै ११० वर्षे कालखण्डमा हालसम्मकै ठूलो क्षमताको आयोजना सञ्चालनमा आएको हो । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा आयोजनाको बाँध र गोगरमा विद्युत् गृह रहेको छ ।

आयोजनाबाट दुई अर्ब २८ करोड युनिट वार्षिक विद्युत् उत्पादन हुनेछ । आयोजनामा ८.४५ किलोमिटर लामो मुख्य सुरुङ र एक हजार १६५ मिटर लामो पेनस्टक निर्माण गरिएको छ । यस आयोजनाको सम्भाव्यता अध्ययन तथा पहुँचमार्ग विस्तृत अध्ययन डिजाइनको काम नेपाल विद्युत् प्राधिकरणले विसं २०५७ देखि २०६० मा गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी