अन्तराष्ट्रिय क्षेत्रमा उदीयमान शक्तिका रुपमा देखा परेको चीनका राष्ट्रपति सि जिन पिंगले मंगलवार नेपाल सहित विश्वका १६० बढी देशका ५ सय बढी शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् ।
बैठकमा नेपालसहित पाकिस्तान, बंगलादेश, श्रीलंका, भारत, अफगानिस्तान, माल्दिभ्स लगायतका देशका नेता सहभागी हुनेछन् ।
चीनीया कम्युनिष्ट पार्टीको सय वर्ष पूरा भएको अवसरमा राष्ट्रपति सि ले पार्टीका महासचिवको हैसियतमा छलफल गर्न लागेका हुन् ।
यो छलफललाई चीनले आफ्नो विकास र साझेदारीबारे महत्वपूर्ण सन्देश दिन खोजेको देखिएको छ ।
यो बैठक साँझ ६ बजेपछि शुरु हुने छ । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाबाट बाबुराम भट्टराई र उपेन्द्र यादव, राप्रपाबाट पशुपति शमशेर जबरा लगायतका नेताहरु सहभागी हुनेछन् ।
नेताहरुलाई पाँच पाँच मिनेट बोल्ने समय दिईएको छ ।
यस अघि पनि चीनीया नेताहरुले नेपाली नेताहरुसँग जुम बैठक गरेका थिए ।
नेपाललाई चीनले १८ लाख डोज कोरोनाको खोप अनुदानमा उपलव्ध गराएको छ भने ४० लाख डोज खोप खरीद गरेर नेपालले ल्याउदैछ ।
जनताको समृद्धिः राजनीतिक दलहरुको दायित्व शीर्षकमा यो कार्यक्रम हुन लागेको चीनीया कम्युनिष्ट पार्टीका प्रवक्ता हु चाओमिनले जानकारी दिए ।
बहुआयामिक कुटनीतिक सम्बन्धको विकास, अनुभव आदान प्रदान जस्ता विषयमा यो बैठक महत्वपूर्ण हुने हु ले बताए ।