हेर्दाहेर्दै ढले घर, बस्ती नै डुबानमा

हेर्दाहेर्दै ढले घर, बस्ती नै डुबानमा

  • आइतवार, असार २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

महोत्तरी, २० असार । हेर्दाहेर्दै पानीको तीव्र रेत (बहाव) ले घर ढलेपछि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका उपेन्द्र कापर बेघर हुनुभएको छ । गत मङ्गलबारदेखि लगातार परेको पानीले डुबानमा परेको घर शनिबार गल्र्यामगुर्लुम ढलेपछि कापरको परिवार बिचल्लीमा परेको छ । कापरसँगै सो बस्तीका १५० भन्दाबढी घर डुबानमा परेका छन् ।

लगातारको वर्षाले कच्ची घर बुधबार नै डुबेको कापरले बताउनुभयो । “बर्खामा घर ढल्दा बिजोग त भयो नै, बालबच्चा यो बर्खामा कहाँ राख्नु ?” कापरले भन्नुभयो, “धन्न कसैलाई ढलेको घरले मिचेन ।” डुबानमा परेको घर ढल्नसक्ने छनक आपूmले पाएपछि सचेतता अपनाउँदा ज्यान भने बाँचेको कापरको भनाइ छ ।

बस्तीका मुसहर, चमार र मुसलमानका घर रहेका टोल डुबानमा बढी परेका छन् । “हामी गरीब छौँ, हाम्रो स्वर कसले सुन्ने हजुर !”, बस्तीकै एकल मुस्लिम महिला ऐसा खातुनले भन्नुभयो, “हाम्रो बस्ती शिरानको झिल (सानो ताल) व्यवस्थित नगरी बालु गिट्टी उत्खनन गरिँदा डुबानको समस्या परेको हो ।” जिल्लामा यसपालि गत मङ्गलबारदेखि शनिबारसम्मको अविरल वर्षाले सयौँ पराले झुप्रा लडाएर बिल्लीबाठ बनाएको छ ।

जिल्लामा गहिरा ठाउँका र नदी किनार छेउका बस्ती धेरै डुबानमा परेका छन् । मध्यवर्ती क्षेत्रमा बलवा नगरपालिकाका भगवतीपुर, भलनी, लेउरी, बञ्चौरी, भङ्गाहा नगरपालिका कविलाशा, सिङ्ग्याहीलगायतका बस्ती रातु नदीको बाढीले डुबानको जोखिममा छन् । त्यसैगरी जलेश्वर नगरपालिकाका धवौली, मलिवारा, महोत्तरी गाउँपालिकाका अनैठा, रतवारा, एकडारा गाउँपालिकाका बगेवासहितका बस्तीमा रातुले ताण्डव मच्चाउँदै आएको जिल्ला समन्वय समितिका प्रमुख सुरेशप्रसाद सिंह बताउनुहुन्छ ।

यसैगरी जिल्लाको पूर्वी भेग भएर बग्ने कुटमेश्वरी नदी लोहारपट्टी नगरपालिकाको कविरगामा, महोत्तरी गाउँपालिकाको पर्सामोड, अलिपट्टी, जलेश्वर नगरपालिकाको लोचना, मटिहानी नगरपालिकाका सिमरदही र धिरापुरसहितका बस्ती तहसनहस गर्दै भारत पस्दछ । जिल्लामा रातु, जङ्घा, मरहा, ओक्सी, कुटमेश्वरी र बाँके बर्खामा धेरै कटान र डुबान गराउने नदी हुन् । जङ्घा, मरहा र बाँकेले जिल्लाका पश्चिमवर्ती, रातुले पूर्वी र मध्यवर्ती, ओक्सीले मध्यवर्ती तथा कुटमेश्वरीले दक्षिण पूर्ववर्ती भेगमा उत्पात मच्चाउने गरेका विगतदेखिको अनुभव जलेश्वर–५ का बासिन्दा नेपाली काँग्रेसका महासमिति सदस्य बजरङ्ग नेपाली बताउनुहुन्छ । मरहा र बाँकेले गौशाला नगरपालिका र सोनमा गाउँपालिकाका दर्जनौँ बस्ती बर्सेनि कटान र डुबान गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ