सप्तरीका ५ सयभन्दा बढी घर डुबानमा: कोशीमा पानीको बहाव बढ्दै, ५६ मध्ये २८ वटा ढोका खुला

सप्तरीका ५ सयभन्दा बढी घर डुबानमा: कोशीमा पानीको बहाव बढ्दै, ५६ मध्ये २८ वटा ढोका खुला

  • शनिबार, असार १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

लगातारको वर्षा भएपछि सप्तरीको विभिन्न पालिकाका ५ सयभन्दा बढी घर डुबानमा परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोसी नदीको सिपेजको पानी र वर्षाको पानीको निकास नहुँदा ३ सयभन्दा बढी घर डुबानमा परेको छ ।

उक्त नगरपालिकाको वडा नं ९, १०, ११ र १२ का करिब ३ सय घर डुबानमा परेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिनुभयो । त्यस्तै त्रियुगा, अमहा, टेंग्रा, गङ्गाजली र सतरापतरा नदीको पानी बस्तीमा पस्दा सप्तरीको सप्तकोसी नगरपालिकाको वडा नं १, २, ३ र ४ का करिब २ सय घर डुबानमा परेको नगरप्रमुख उत्तम गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार त्रियुगा नदीले वडा नं २ को सिद्धिपुर र वडा नं ३ को सखुवानीमा तटबन्ध कटान गरिरहेको छ ।

विगत केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ ।

आज बिहान ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा दुई लाख ३१ हजार ५१५ क्युसेक पानीको बहाव छ । यसअघि शुक्रबार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खुला गरी पानीलाई निकास दिइएको छ । नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचित गरेको छ । पानीको बहाव बढ्दो क्रममा रहेकाले ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो बत्ती बालिएको छ ।

उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण कोशीमा मिसिने सहायक नदी तथा खोलामा समेत बाढी आउँदा यस नदीको पानी बहाव शुक्रबार रातभरमा २४ हजार नौ सय ९५ क्यूसेकले बढेको हो । वर्षा हुने क्रम अझै जारी रहेकाले जलस्तर अरु बढ्ने अनुमान गरिएको छ ।

सप्तकोसीमा पानीको बचाब उच्च हुँदै गएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढा बस्ती जोखिममा परेको छ । गोबरगाढा सप्तकोसी नदीको बीचमा रहेको बस्ती हो ।गोबरगाढाका वडाध्यक्ष बिन्देश्वर यादवका अनुसार बस्तीमा अहिले महिला,बालबालिका समेत गरि ५ सय जना छन् । कोसीमा पानी बढेसँगै आफूहरु असुरक्षित भएको वडाध्यक्ष यादवले बताए । तरपनि त्यहाँका स्थानीयले अझै घर छोड्न मानेका छैनन् । हरेक वर्ष वर्षातमा गोबरगाढामा सप्तकोसीको पानी पस्ने गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिकाले कोसीको मध्य भागमा रहेको उक्त बस्ती स्थानान्तरण गर्ने योजना ल्याएपनि स्थानीयले अस्वीकार गर्दे आएका छन् ।

यसैबीच त्रियुगा, अमहा, टेंग्रा, गंगाजली र सतरापतरा नदीको पानी बस्तीमा पस्दा सप्तरीको सप्तकोसी नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ का करिब २ सय घर डुबानमा परेको नगरप्रमुख उत्तम गौतमले जानकारी दिए । त्रियुगा र टेंग्रा नदीमा कटान समेत लागेको छ । नगरप्रमुख गौतमका अनुसार त्रियुगा नदीले वडा नम्बर २ सिद्धिपुर र वडा नम्बर ३ को सखुवानीमा तटबन्ध कटान गरिरहेको छ ।

यस्तै जिल्लाको सुदुरपश्चिम बलान बिहुल गाउँपालिकामा बलान नदीले कटान गरिरहेको छ । गाउँपालिका अध्यक्ष दयानन्द गोइतका अनुसार बलान नदीले वडा नम्बर २ र ४ मा कटान गरिरहेको छ । स्थानीयस्तरमा उपलब्ध साधनस्रोतले नियन्त्रणको कार्य गरिरहेको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ