काठमाडौं, १८ असार । अनामनगरस्थित् अक्सिडेन्टल पब्लिक स्कुल (ओपिएस)ले कब्जा गरेर सरकारी जग्गामा बनाएको पर्खाल तथा टहरा हटाउन काठमाडौं महानगरपालिकाले आलटाल गरिरहेको तथ्य फेला परेको छ ।
‘हाम्रो टिम नेपाल’ले लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरुलाई खाना पकाएर खुवाउँदै आएको संरचना भत्काएको काठमाडौँ महानगरपालिकाले विगत २५ वर्षदेखि सरकारी जग्गा कब्जागरी अक्सिडेन्टल स्कुलले बनाएको पर्खालसहितका संरचना भने अहिलेसम्म भत्काएको छैन ।
महानगरले अक्सिडेन्ल स्कुललाई सरकारी जग्गामा गैरकानुनी र अनधिकृत पर्खाल तथा टहरा हटाउन ३५ दिनको म्याद दिएको ६ महिना पुग्दा पनि निजी स्कुल अक्सिडेन्टललाई सरकारी जग्गा भोगचलन तथा कब्जा गर्न छुट दिइरहेको छ ।
लकडाउने समस्यामा परेका नागरिकलाई खाना खुवाउने हाम्रो टिम नेपालले प्रयोग गरेको टहरा भत्काएको महानगरले २५ वर्षदेखि अनधिकृत रूपमा सरकारी जग्गा कब्जा गर्ने निजी स्कुल अक्सिडेन्टललाई सरकारी जग्गा हडप्न छुट दिइरहनुले महानगरका मेयर विद्यासुन्दर शाक्यको भूमिकामाथि शंका उत्पन्न भएको छ ।
वडा नम्बर ३२ (हाल २९ ) को सिट नम्बर ११०६–२१ कित्ता नम्बर १० को क्षेत्रफल १ रोपनी १ आना धोबीखोला नदी उकाशको सरकारी जग्गा टेकबहादुर पौडेल, कुलबहादुर निरौला, दीपक विष्टलगायतले कब्जागरी निजी स्कुल सञ्चालन गर्दै आएको महानगरपालिकाले ठहर गरिसकेको छ । तर अहिलेसम्म अक्सिडेन्टलद्वारा अतिक्रमित उक्त संरचना महानगरले चलाएको छैन।
काठमाडौं महानगरपालिकाले अक्सिडेन्टललाई सरकारी जग्गामा गैरकानुनी रूपमा बनेको पर्खाल तथा टहरा हटाउन आदेश दिएको ६ महिना पुग्दा पनि संरचना नहटाउनु र भात खुवाउँदै आएको ठाउँमा हतार/हतार डोजर लगाएर भत्काउनुले मेयर शाक्यको भूमिकामाथि प्रश्न उठेको हो ।
अक्सिडेन्टल पब्लिक स्कुलले सरकारी जग्गामा बनाएको संरचना हटाउने महानगरले पुस २४ गते निर्णय गरेको थियो ।
अक्सिडेन्टल स्कुललाई महानगरले दिएको म्याद भित्र उक्त संरचना नहटाए महानगर आफैले हटाउने फैसलामा उल्लेख छ । साथै भत्काएवापत लाग्ने त्यसको खर्च महानगरले अन्सिडेन्टल स्कुलका सञ्चालसँग असुल उपर गर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म अक्सिडेन्टल स्कुलद्वारा अतिक्रमित संरचना नहटाउनुले मेयर र स्कुल सञ्चालनबीच मिलेमतो त छैन भन्ने २९ नम्बर वडाका अधिकांश स्थानीयले आशंका व्यक्त गर्न थालेका छन् ।
वडा नम्बर ३२ (हाल २९ ) को सिट नम्बर ११०६–२१ कित्ता नम्बर १० को क्षेत्रफल १ रोपनी एक आना धोबीखोला नदी उकाशको सरकारी जग्गा टेकबहादुर पौडेल कुलबहादुर निरौलाल, दीपक विष्टलगायतले कब्जागरी निजी स्कुल सञ्चालन गर्दै आएको महानगरपालिकाले ठहर गरिसकेको छ ।

स्कुलका सञ्चालक टेकबहादुर पौडेल (टिबी) , कुलबहादुर निरौला (केबी ) लगायतको नाममा दुषित दर्ता भएको कित्ता नम्बर ६४ को ८ आना धोबीखोला नदी उकाशको सरकारी जग्गा पनि सरकारी छानबिन पछि पुन: सरकारको नाममा फिर्ता आइसकेको छ । यो समेत जोड्दा अक्सिडेन्टल स्कुलले कब्जा गरेर उपभोग गरिरहेको डेढ रोपनी भन्दा बढी सरकारी जग्गा देखिन्छ । तर महानगरपालिकाले सरकारी जग्गा हडपेर शिक्षाको व्यापार गर्ने अक्सिडेन्टल स्कुलमाथि
कुनै किसिमको कानुनी कारबाही गर्न सकेको छैन । यसले पनि मेयर विद्यासुन्दर शाक्यको भूमिकामाथि प्रश्न चिन्ह खडा भएको हो ।