१८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकमाथि पहिरो खसेको छ । ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पहिरोले पुरे पनि हताहती भने नभएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पहिरोले बाटो अबरुद्ध भएपछि सडकमा रोकिराखेको ट्रकमाथि पहिरो खसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ ।
लगातारको वर्षाका कारण मुग्लिन नारायणगढ सडक खण्डको विभिन्न ठाउँमा पहिरो खस्ने क्रम रोकिएको छैन ।
पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
यसअघि वर्षाका कारण १४ किलोमा पहिरो खस्दा बाटो एकतर्फी मात्रै सञ्चालनमा आउन सकेको थियो । बिहिवार साँझ ठूलो ढुंगासहित पहिरो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
लगातारको वर्षासँगै मुग्लिन–नारायणगढ सडकखण्डको विभिन्न ठाउँमा छिनछिनमा पहिरो झर्ने क्रम रोकिएको छैन ।