काठमाडौँ, १४ असार । काठमाडौंको अनामनगरस्थित पूर्वी गेटअगाडिको सरकारी जग्गा कब्जा गरि बनाईएको टहरा नगरप्रहरीले भत्काएको छ । सार्वजनिक जग्गा कब्जा गरी काठमाडौँ महानगरपालिकासँग समेत समन्वय नगरी टहरा बनाएर विभिन्न गतिविधि गरेको भन्दै काठमाडौँ महानगरपालिकाले ती टहरा हटाइदिएको हो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाएका टहरा काठमाडौँ महानगरपालिका व्यवस्थापनको निर्णय अनुसार नै हटाइदिएको जानकारी दिनुभयो । ‘हामीलाई जानकारी भए अनुसार करीब एक वर्षदेखि ‘हाम्रो टिम नेपाल’ समूहका साथीहरुले त्यहाँ टहरा बनाउनु भएको रहेछ,’ ज्ञवालीले भन्नुभयो, ‘स्थानीयको माग अनुसार त्यहाँ हरियाली पार्क निर्माण गर्नका लागि ड्रोइङ–जिडाइन तयारी अवस्थामा छ । हामीले काम अघि बढाउन उहाँहरुलाई पटक–पटक त्यहाँका संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि आज हटाएका हौँ ।’
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी धनपती सापकोटाले पनि पटक–पटक उहाँहरुलाई आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर हटाउनु परेको जानकारी दिनुभयो । ‘उहाँहरुको अभियानप्रति हाम्रो विमती छैन,’ सापकोटाले भन्नुभयो, ‘तर, अभियानका नाममा सरकारी जग्गा कब्जा गर्ने अनि पार्क निर्माण गर्ने, हरियाली बढाउने हाम्रो अभियानमा अवरोध गर्दै उल्टै अटेर गर्ने कुरा उचित होइन ।’
हामीले उहाँहरुलाई पटक–पटक आग्रह गरेका छौँ । तर, उहाँहरुले हाम्रो आग्रहलाई बेवास्था गरेपछि बाध्य भएका हौँ ।’
उहाँले पनि अब त्यो स्थानमा हरियाली पार्क निर्माण हुने बताउनुभयो ।
टहरा हटाउने क्रममा झडप समेत भएको थियो । सो क्रममा १८ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख अशोक सिंहले जानकारी दिए।
काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गा खाली गराउन पटक पटक गरेको आग्रह अस्वीकार गरेपछि महानगरले टहरा भत्काउने क्रममा अबरोध गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको बताईएको छ ।
पक्राउ पर्नेमा हाम्रो टिम नेपालका अभियन्ता विमल पन्त सहित छन्। निषेधाज्ञाको समयमा हाम्रो टिम नेपालले खाली जग्गामा अस्थायी संरचना निर्माण गरेर विपन्न नागरिकलाई खाना खुवाउने काम गर्दै आएको थियो।