नमोबुद्धद्वारा ६५ करोडको बजेट सार्वजनिक, प्रत्येक वडामा नगर गौरवका योजना र कृषि औजार बैंक

नमोबुद्धद्वारा ६५ करोडको बजेट सार्वजनिक, प्रत्येक वडामा नगर गौरवका योजना र कृषि औजार बैंक

  • बिहिबार, असार १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि ६५ करोड ५९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बिहीबार आयोजित नगरपालिकाको दसौं नगरसभामा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले ६५ करोड ५९ लाख ४७ हजार ५ सय ३० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । जसमध्ये चालुतर्फ ५० करोड ७७ लाख र पुँजीगततर्फ १४ करोड ८२ लाख ४७ हजार ५ सय ३० रुपैयाँ खर्च प्रस्ताव गरिएको छ ।
नगरसभा बैठकमा बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख तिमल्सिनाले स्थानीय सरकार, उत्तरदायी सरकार, विकाशशील सरकार, जनमुखी सरकार, बलियो सरकार राष्ट्र समृद्धि सरकार हामी सबैको उन्नतिको आधार भन्ने मान्यतासहित आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम तयार पारिएको बताए । नगरपालिकाले आगामी आर्थिक बर्षमा प्रत्येक वडामा एउटा नगर गौरवको आयोजना सञ्चालन गर्ने नीति तय गरेको छ । समृद्ध नगरको अभियानलाई मुर्तरुप दिने गरी नीति तथा कार्यक्रम तय गरिएको र त्यसको प्रभावकारीरुपमा कार्यान्वयन गर्ने नगर प्रमुख तिमल्सिनाले बताए ।
नमोबुद्धले नगरका प्रत्येक वडामा कृषि औजार बैंक स्थापना गर्ने नीति तय गरेको छ भने किसानका गरा सधैं हराभरा मेरो कृषि मेरो पौरख नारासहित आगामी आर्थिक बर्षमा नमोबुद्ध युवा नवप्रवर्तन कृषि कार्यक्रम सञ्चालन गर्ने नीति तय गरेको छ । यस्तै सबै वडामा पशु तथा कृषि बिमा कार्यक्रम विस्तार गर्ने, एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने, नगरभित्रै शीत भण्डारको व्यवस्था गर्ने, आधुनिक पशुपंक्षी बधशाला तथा कोल्डस्टोर स्थापनाका लागि पहल गर्ने नगरप्रमुख तिमल्सिनाले जानकारी दिए । यस्तै डिजिटल कृषि, कृषकको हातमा सूचना प्रणाली कार्यक्रम सञ्चालन गर्ने, नमोबुद्ध सिड बैंक स्थापना गर्ने तथा पाडी संरक्षण कार्यक्रम सञ्चालन गर्ने तिमल्सिनाले बताए ।
यस्तै पर्यटन उद्यमीको हात नमोबुद्धको साथ नारासहित उद्योग, पर्यटन सहकारी तथा संस्कृति प्रर्वद्धनसम्वन्धी नीति तथा कार्यक्रम तय भएको छ । शिक्षा क्षेत्रको विकासका लागि पहिलो अक्षर क लेखौं आफ्नै सामूदायिक विद्यालयबाट कार्यक्रम सञ्चालन गर्दै सामूदायिक विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्दै शिक्षामा गुणस्तर वृद्धि गर्ने नीति तय भएको छ । विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि प्रधानाध्यापकसँग कार्यसम्पादन करार गर्ने, नगरभित्र कानुन तथा सामाजिक विश्वविद्यालय स्थापनाको पहल गर्ने नगर प्रमुख तिमल्सिनाले बताए ।
नगर प्रमुख तिमल्सिनाले कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि अग्रपंक्तिमा रही उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई नमोबुद्ध कोरोना योद्धा सम्मानको व्यवस्था गर्ने जानकारी पनि दिएका छन् । सुत्केरी हुने महिलालाई वडा कार्यालयमार्फत निःशुल्क एम्बुलेन्स वा अन्य यातायातको व्यवस्था गर्ने, एक घर एक आयुर्वेदिक औषधीको विरुवा रोपन कार्यक्रम सञ्चालन गर्ने, सुत्केरीसँग उपमेयर तथा गर्भवती महिला पोषण कार्यक्रम सञ्चालन गर्ने नीति पनि नमोबुद्ध नगरपालिकाले लिएको छ । महिला र बालबालिकामैत्री नीति तथा कार्यक्रमलाई जोड दिँदै नमोबुद्धले दुई छोरी मात्र जन्माएर स्थायी परिवारनियोजन गर्ने दम्पतीलाई सम्मान गर्ने घोषणा पनि गरेको छ भने नमोबुद्ध नगरको इच्छा, छोरी बुहारीलाई रोजगारी र उच्च शिक्षा भन्ने नारालाई सार्थक बनाउने तथा किशोरीहरुलाई विभिन्नखाले हिंसाबाट बच्न आत्मरक्षा तालिम सञ्चालन गर्ने तथा बालश्रममुक्त नगर घोषणा गरिने नगर प्रमुख तिमल्सिनाले बताए । आगामी आर्थिक बर्षभित्र सबै वडाको आफ्नै प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने तथा २० बर्षे दीर्घकालिन सोचका साथ एकीकृत नगर विकास योजना सञ्चालन गर्ने तिमल्सिनाले जानकारी दिएका छन् । नमोबुद्ध नगर चक्रपथ निर्माण, नमोबुद्ध वृहत खानेपानी आयोजनाको कार्यान्वयन, नमोबुद्ध बालमैत्री पार्क निर्माण, सबै स्वास्थ्य संस्थाको भवन निर्माणको काम सम्पन्न गर्ने लक्ष्यसमेत लिइएको छ ।
नगरसभा बैठकमा उपप्रमुख रामदेवी तामाङले चालु आर्थिक बर्षको प्रगति विवरण पेश गरेकी थिइन् । चालु आर्थिक बर्षमा ७१ करोड ५१ लाख ९९ हजार २ सय ७० रुपैयाँ बिनियोजन भएकोमा हालसम्म ३८ करोड ७७ लाख रुपैयाँ खर्च भएको तामाङले जानकारी दिइन् । कारोना भाइरस महामारीका बाबजुद अधिकांश नगरस्तरीय र वडास्तरीय योजनाहरु सम्पन्न हुने चरणमा रहेको र आर्थिक बर्षको अन्त्यसम्ममा अपेक्षाकृत प्रगति हासिल हुने तामाङले बताइन् । बैठकमा विधायन समिति संयोजक एवं वडा नं। २ का अध्यक्ष सञ्जीव ढकालले विनियोजन विधेयक २०७८, सार्वजनिक लेखा समिति संयोजक एवं वडा न।। १० का अध्यक्ष रामकष्ण अधिकारीले आर्थिक विधेयक २०७८ पेश गरेका थिए । बजेट अधिवेशनको दोस्रो बैठक असार २८ गते बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी