निरन्तर हावाहुरी, पानीका कारण पाटनमा बेपत्ता भएकाको खोजी अझै हुन सकेन

निरन्तर हावाहुरी, पानीका कारण पाटनमा बेपत्ता भएकाको खोजी अझै हुन सकेन

  • शुक्रबार, असार ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

जाजरकोट, ४ असार। भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएका सात जनाको अझै खोजी हुनसकेको छैन । मङ्गलबारदेखि हराइरहेका कुशे गाउँपालिका–८ र ९ औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय अझै सम्पर्कमा आएका छैनन् ।

हावाहुरी, पानीसहित आएको बहुकाले उडाएर बेपत्ता भएका उनीहरूको खोजीका लागि प्रहरी टोली र स्थानीयवासीलाई घटनास्थलतर्फ पठाए पनि त्यहाँ पुग्न नसकेको प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुकुमार थापाले बताउनुभयो । सोही घटनामा परी बच्न सफल ४४ वर्षीय भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीय दुर्गा रोकाय र ५५ वर्षीया गङ्गा खड्का सम्पर्कमा आएर प्रहरीलाई खबर गरेका थिए ।

त्यस्तै जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले बताएको छ । बुधबार बिहान मात्र घटनाका विषयमा जानकारी आएपछि प्रहरी र स्थानीयवासीलाई घटनास्थलतर्फ पठाएको थियो । यो समाचार तयार पर्दासम्म प्रहरी र स्थानीयवासी भैँसी ओडारमा पुगेर लेक लागी बिरामी भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताउनुभयो । घटनास्थल पुग्न पाँच घण्टाभन्दा बढी लाग्ने स्थानीयवासीको भनाइ छ । बेपत्ताको उद्धारका लागि गृहमन्त्रालय, प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा पत्राचार गरिएको छ । उद्धार टोली बिरामी पर्नुका साथै पानी, हावाहुरीसहितको बहुकाले माथि जान नसकेको उहाँले बताउनुभयो । घटनास्थल समुद्र सहतदेखि चार हजार ८०० मिटर उचाइमा छ ।

सदरमुकामदेखि बाहिर फोन सेवा अवरुद्ध

सदरमुकामदेखि बाहिर टेलिफोन सेवा अवरुद्ध भएको छ । सौर्य ऊर्जा प्रणालीले काम नगर्दा फोन सेवा अवरुद्ध भएको हो । सदरमुकामदेखि बाहिरका सबै टावर सौर्य उपकरणको भरमा सञ्चलन हुँदै आएका कारण लगातारको वर्षाले चार्ज नहुँदा टावर बन्द भएको नेपाल टेलिकम जाजरकोटले जनाएको छ । स्थानीय सडकसमेत अवरुद्ध भएको छ । जुनिचाँदे गाउँपालिकामा सबै सडक अवरुद्ध भएको गाउँपालिकाका कावाध्यक्ष शिवा आचार्यले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ