३ असार, परासी । गण्डक ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेपछि पश्चिम नवलपरासीका दक्षिणी गाउँ जोखिममा परेका छन्। पानीको सतह बढेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ।
ब्यारेजको क्षमता ८ लाख क्युसेकको भएपनि जीर्ण भएका कारण अहिले ब्यारेजले ५ लाख क्युसेकभन्दा बढी पानी धान्न नसक्ने अवस्थामा पुगेको भूआर्जन तथा जनसम्पर्क कार्यालयका भूआर्जन अधिकारी तारासिंह थापाले जानकारी दिए।
अहिले गण्डकमा ४ लाख १२ हजार क्युसेक पानी रहेको छ। ४ लाखभन्दा बढी पानीको सतह पुगेपछि खतरा मानिन्छ। पानीको सतह बढ्दै गएपछि ब्यारेजको ‘बि ग्याँब बाँध’ फुट्ने खतरामा रहेको थापाले बताए ।
नारायणी नदीमाथि निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैंसालोटन जोडेको छ।
बाँध फुटेमा दक्षिण भेगका प्रतापपुर, सुस्ता र पाल्हीनन्दनका करिब ४० भन्दा बढी गाउँ डुबानमा पर्ने भूआर्जन कार्यालयले जनाएको छ।
यसैबीच, पानीको सतह खतरामाथि गएपछि जिल्ला प्रशासन कार्यालयले गण्डकमा पानीको सतह निरन्तर बढीरहेकाले सजगता अपनाउन स्थानीयलाई आग्रह गरेको छ। सम्भावित जोखिममा पर्ने स्थानीयको व्यवस्थापन र उद्धारका लागि सुरक्षाकर्मी हाइअलर्टमा रहेका छन् । पनीको सतह बढ्दै गएकाले जुनसुकै बेला खतरा आउनसक्ने भएकाले सुरक्षाकर्मीहरूलाई सामग्रीसहित तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए।
बाढीले क्षति पुर्याउन लागेको खबर पाउनासाथ १० मिनेटभित्र सम्बन्धित स्थानमा पुग्ने गरी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई तयारी अवस्थामा राखिएको उनले बताएका छन् ।