सर्वोच्च अदालत बार एशोसिएसनले प्रतिनिधि सभा विघटनको मुद्धामा राय दिन वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीमा पठाउने भएको छ।
प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासले दुवै बारबाट दुई दुई जना वरिष्ठ अधिवक्ताहरु सहयोगीको रुपमा माग गरे बमोजिम उनीहरु सिफारीस भएका हुन् ।
मंगलबार बसेको सर्वोच्च बारको बैठकले घिमिरे र केसीलाई सिफारिस गरेको बारका अध्यक्ष पूर्णमान शाक्यले बताए।
संसद विघटनको मुद्दामा असार ९ गतेदेखि नियमित सुनुवाइ सुरु हुँदैछ। उक्त मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ।
अब नेपाल बारले पनि संभवत आजै दुई जना एमीकस क्युरीका लागि अधिवक्ताहरुको नाम सिफारीस गर्नेछ । त्यस पछि एमीकस क्युरी चार सदस्यीय हुनेछ ।