धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगको इटहरीस्थित कार्यालयबाट निमित्त कार्यवाहक प्रमुख पुरुषोत्तम ढकालको नेतृत्वमा गएको टोलीले आज प्रतिष्ठानका विभिन्न विभागका अधिकारीहरुसँग सोधपुछ समेत गरेको छ ।
लामो समयदेखि सञ्चार माध्यमहरुमा लगातार समाचार प्रकाशित भएपछि अख्तियाारले छापा मारेको हो । आयोगको टोली आज विहान ११ बजे प्रतिष्ठानमा आएको थियो । अख्तियारको टोलीले शिक्षाध्यक्ष डा। गुरु खनालसँग भेट गरी लेखा शाखा, खरिद शाखा तथा मुल्यांकन शाखाबाट केही महत्वपूर्ण विषयमा विभागका कर्मचारीहरुलाई सोधपुछ गरेको छ ।
अनुसन्धान टोलीका अधिकृत दिवस अधिकारीले प्रतिष्ठानका विभिन्न विषयहरुमा उजुरी परेकाले अनुसन्धानका लागि गएको बताए । ‘छापा नै मारेको भन्न मिलेन, प्रतिष्ठानमा सन्दर्भमा धेरैवटा उजुरीहरु परेकाले स्थलगत अनुसन्धान र अनुगमनका लागि गएका हौं ।’ अधिकारीले कुन सन्दर्भमा गइएको खुलाउन नमिल्ने बताए । ‘एउटा मात्रै भएपो, धेरै वटा विषयमा छानविन चलिरहेको छ । त्यसैको सिलसिलामा गइएको हो ।’ अधिकारीले भने ।
आयोगले खरिद तथा मुल्यांकन शाखाबाट केही कागजातहरु लिएर गएको श्रोतको दावी छ । प्रतिष्ठानको कोभिड अस्पतालमा भएको अनियमितता छानविन गर्न र त्यससँग सम्बन्धीत कागजात लिन आयोगको टोली पुनः प्रतिष्ठान आउने जनाउ दिइएको छ ।
प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा।डा। गुरु खनालले आयोगको इटहरीबाट टोली आएको तथा लेखा, खरिद, मुल्यांकन शाखाका कर्मचारीहरुलाई सोधखोज गरेको बताए । ‘प्रतिष्ठानका विषयमा धेरै उजुरीहरु परेका छन्, ति विषयमा सोधखोज गर्न आयोगको टोली आएको हो ।’ डा। खनालले बताए ।
प्रतिष्ठानका उपकुलपति र रजिष्ट्रार राजधानी गएकाले निमित्त उपकुलपतिको जिम्मेवारी पाएकाले आफुले टोलीसँग भेटघाट गरेको डा। खनालले बताए । मिर्मिरे अनलाईनले वीपी प्रतिष्ठानमा भए गरेका विभिन्न अनियमिताका बारेमा निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ । मिर्मिरे अनलाइनमा समाचार प्रकाशित भएपछि आयोगले प्रतिष्ठानमा भएका खरिद, टेण्डर प्रक्रियाका बारेमा अनुसन्धान थालेको छ ।
प्रतिष्ठानमा भएका अनियमितताका सन्दर्भमा नागरिक समाजले पनि विभिन्न नियामक निकायलाई ध्यानाकर्षण गराएको थियो । जिल्ला प्रशासन कार्यालय, प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा स्वास्थ्य मन्त्रालयमा समेत धरानका नागरिक दबाब सञ्जालले ध्यानाकर्षण पत्र बुझाएका छन् ।