विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ ।
अस्ट्रेलियाविरुद्धको खेलमा नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीमा चार परिवर्तन गर्दै अन्तिम ११ को घोषणा गरेका छन्।
प्रशिक्षक अलमुताइरीले मिडफिल्डमा विशाल राई र एरिक विष्टलाई ल्याएका छन् । त्यसै गरी डिफेन्समा गौतम श्रेष्ठ र फरवार्डमा नवयुग श्रेष्ठलाई पहिलो ११ मा उतार्ने भएका छन्। यसअघिको खेलमा सुरूवाती लाइनअपमा रहेका अन्जन विष्ट, दीनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ बेन्चमा छन्।
दीनेश राजवंशीको स्थानमा गौतम श्रेष्ठ मैदानमा हुने छन्। मिडफिल्डमा पुजन उपरकोटीलाई एरिक विष्ट र विशाल राईले साथ दिनेछन्। अग्रभागमा नवयुग श्रेष्ठले सुमन लामा र सुनिल बलको साथ पाउनेछन्।
कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ। कोरोना महामारीपछि बाँकी ३ खेल खेल्न कुवेत पुगेको नेपालले यसअघि चाइनिज ताइपेईलाई २-० ले हराएको थियो भने जोर्डनसँग ३-० ले पराजित भएको थियो।
समूह बी मा रहेको नेपाल यसअघि नै विश्वकप छनोटबाट बाहिरिसकेको छ । एसिया कपको अर्को चरणका पुग्नका लागि पनि अब प्लेअफको सहायता लिनुपर्ने अवस्था बनेको छ ।