विराटनगर जेठ २७ । प्रदेश १ सरकारले आउदो आर्थिक बर्ष २०७८÷७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारले बिहीबार सार्वजानिक गरेको नीति तथा कार्यक्रममा आगामी वर्ष ३.६ प्रतिशतको आर्थिक बृद्धि हुने अनुमान गरिएको हो । राष्ट्रिय अर्थतन्त्रमा प्रदेश १ ले १५.६ प्रतिशतको हिस्सा ओगट्छ ।
कोरोना महामारीका कारण प्रदेश सरकारले विकासे आयोजनाहरुमा परिमार्जन गर्ने पनि घोषणा गरेको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभामा बिहीबार नीति कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
कोभिड–१९ महामारीका कारण प्रदेशको आर्थिक तथा सामाजिक क्षेत्रमा पर्न गएको प्रभावको अध्ययन गरी प्रदेशको आवधिक योजनामा आवश्यक परिमार्जन गर्नु वान्छनीय देखिएको छ । नीति कार्यक्रममा भनिएको छ ।
त्यसैगरी प्रदेशका मुख्य योजनाहरुमध्ये ६२ बहुवर्षीय सडक, ७ प्रादेशिक विशेष सडक आयोजना, ८७ मुख्यमन्त्री ग्रामीण कृषि सडक, १२८ बहुवर्षीय सडक पुल निर्माण, ११५ झोलुंगे पुल आदि केही सम्पन्न भईसकेका छन् उल्लेख गरिएको छ । सिंचाइ क्षेत्रमा ४३ हजार हेक्टर जमिन सिंचित गर्ने अभियान बमोजिम करिव ५३ प्रतिशत काम सम्पन्न भएको उल्लेख गरिएको छ ।
प्रदेश सरकारले नीति तथा कार्यक्रममा कोभिड विरुद्धको खोपमा सबै प्रदेशवासीहरुको सरल र सहज पहुँचलाई सुनिश्चित गर्नु डिजिटल स्वास्थ्य, डिजिटल प्रदेश‘ कार्यक्रम कार्यान्वयनमा ल्याइने उल्लेख गरेको छ।
हेर्नुस् नीति कार्यक्रमको विस्तृत विवरण :
https://www.mirmireonline.com/wp-content/uploads/2021/06/Niti-tatha-karyakram-078-79-1.pdf