प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशन आजबाट शुरु भएको छ । बैठकमा आर्थिक कार्यविधि ऐन, २०७४ को दोस्रो संशोधन सम्बन्धी अध्यादेश सभामा आज पेश भएको छ । सो अध्यादेश आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङ९लिम्बू०ले पेश गर्नुभएको थियो ।
यसैगरी, प्रदेशसभा नियमावली, २०७४ को उपनियम निलम्बन सम्बन्धी प्रस्ताव बहुअतले पारित भएको छ । सो प्रस्ताव प्रदेशसभा सदस्य विमलकुमार कार्कीले पेश गर्नुभएको थियो ।
बैठकको प्रारम्भमा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट प्राप्त प्रदेश सभाको आठौँ तथा बजेट अधिवेशन आह्वान सम्बन्धी पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाउनु भएको थियो ।
सभामा प्रदेश नं १ का मुख्यमन्त्री एवं नेकपा९एमाले० संसदीय दलका नेता शेरधन राईले कोभिड–१९ को दोस्रो लहरबाट आमनागरिकलाई जोगाउन सरकार गम्भीर रहेको बताउनुभएको छ । कोभिड–१९को पहिलो र दोस्रो भेरियन्टका कारण जनजीवन, अर्थतन्त्र र उद्योग व्यापार सबै क्षेत्रमा गम्भीर असर परेको जानकारी दिँदै मुख्यमन्त्री राईले कोभिडबाट हामीले धेरै पाठ सिक्यौँ र यसैको माध्यमबाट नयाँ आधार खडा गर्ने कुरामा जोड दिनुभयो । उहाँले सरकारले सदन छल्न नचाहेको प्रष्ट पार्दै छोटो समयममा नै बजेटको पूर्व छलफल सही ढङ्गले हुने धारणा राख्नुभयो । उहाँले पहिलो चरणमा प्रदेशमा एक लाख ४५ हजार ४०० डोज खोप आएको र दोस्रो चरणमा ५२ हजार नागरिकले खोप लगाई सकेको बताउँदै खोप लगाउने कुरामा कतै पनि अनियमितता नभएको प्रष्ट पार्नुभयो । उहाँले कोभिड उपचारमा कोशी अस्पताल, मेची अस्पताल भद्रपुर र कोभिड–१९ अस्पताल विराटनगरले राम्रो काम गरिरहेको जानकारी दिँदै अब आउने बजेट यथार्थपरक आउने कुरामा जोड दिनुभयो । उहाँले प्रदेशको नामकराण सरकारको कारणले नभई राजनीतिक दलकै कारण सभामा पेश हुन नसकेको भन्दै अब नामकरणको प्रस्ताव सदनमा छिट्टै पेश हुने धारणा राख्नुभयो ।
नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले चालु आर्थिक वर्षका लागि रातो किताबमा उल्लेखित योजनाका बजेट कहाँ हरायो भन्ने प्रश्न गर्दै सरकारबाट आर्थिक अपराधको काम भएको छ भत्रुभयो । उहाँले चुरे दोहन गरेर बजेट घाटा कम हुन्छ भत्रु गलत हो भन्दै सरकारले ल्याउने आगामी बजेटको बृहत छलफल गर्नुपर्छ भत्रभयो ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल नगरेकोमा आपति जनाउनुभयो । उहाँले कोभिड–१९ को दोस्रो लहरमा सरकार नदेखिएको उल्लेख गर्दै सरकारले जनतालाई राहत दिनु पर्ने कुरामा जोड दिनुभयो ।
जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले जनताले कोभिडबाट बच्न खोप नपाएको, जनतामा खाद्यात्रको अभाव देखिएको जानकारी दिँदै कोरोनाबाट आमनागरिकलाई बचाउन सरकार गम्भीर हुन नसकेको आरोप लगाउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता इन्दिरा राई र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलका नेता विष्णु तुम्बाहाम्फेले प्रदेश सरकार कमजोर भएमा भ्रष्टाचार मौलाउने भन्दै न्यायालयमा खुल्ला राजनीति गर्न नहुने धारणा राख्नुभएको थियो । उहाँहरुले सरकारले कोभिडबाट आमनागरिकलाई जोगाउन योजनाबद्ध लाग्नुपर्ने कुरा जोड दिनुभएको थियो ।प्रदेश सभाको अर्को बैठक जेठ २५ गते १२ः३० बस्ने सभामुख भण्डारीले जानकारी दिनुभयो ।
प्रदेश २ को बजेटअधिवेशन शुरू
प्रदेश नं। २ को बजेट अधिवेशनका रूपमा सातौं अधिवेशन आजदेखि शुरू भएको छ ।
सभामुख सरोजकुमारको अध्यक्षतामा भएको बैठकको प्रारम्भमा नेपाली कांगे्रस संसदीय दलका नेता रामसरोज यादव , एमाले संसदीय दलका नेता शत्रुधन महतो ,जनता समाजवादी पार्टीका संसदीय दलका उप नेता राअशीष यादव, माओवादी केन्द्रका संसदीय दलका नेता भरत साह र प्रदेशसभा सदस्य सावित्री साहले शुभकामना व्यक्त गर्दे सङ्घीयता र लोकतान्त्रिक पद्धतिको रक्षा, कोरोना सङ्क्रमणको अवस्था, केन्द्रीय सरकारको विभेदकारी नीति सन्दर्भमा चर्चा गर्नु भएको थियो ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले विनियोजन विधेयक २०७८ मा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य र प्राथमिकता, नीति छलफलका लागि प्रस्तुत गर्नु भयो । विनियोजन विधेयकमा कोरोना महामारीको नियन्त्रण गर्दे प्रदेशको आर्थिक गतिविधिलाई चलायमान बनाउन आर्थिक वर्ष २०७८÷७९ को विनियोजन विधेयकको सिद्धान्त, प्राथमिकता र नीति समावेश गरिएको छ । विधेयकमा कोरोना महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दी र निषेधाज्ञाले अर्थ व्यवस्थामा गम्भीर असर परी राजस्व सङ्कलनमा सङ्कुचन आएको उल्लेख छ । यस विषम परिस्थितिले अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक गतिविधि गतिशील बनाउनुपर्नेमा जोड दिइएको छ ।
प्रदेशसभाको अर्को बैठक भोलि जेठ २५ गते मङ्गलबार दिउँसो १ बजे वस्नेछ ।
एमालेद्वारा सदन अवरुद्ध
कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै सदन अवरुद्ध गरेको छ । प्रदेशसभाको आजदेखि शुरु बजेट अधिवेशनको प्रारम्भमै एमालेले तत्काल मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदनका काम कारबाही अघि बढ्न नदिने अडान राखेको हो ।
बैठक शुरु हुनासाथ दलका नेता यामलाल कँडेलले तीन वटै तहका अदालतले दोषी करार गरिसकेका व्यक्ति मन्त्रीका रुपमा झण्डा हल्लाउँदै सदनमा प्रवेश गर्नु आपत्तिजनक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्यमन्त्रीले यस अघि अभियोग लागेको आधारमा मन्त्रीलाई बर्खास्त गरेको अनुभव छ, लोकतन्त्र, संवैधानिक मूल्य मान्यता र जनप्रतिनिधिमुलक संस्थाको गरिमा बचाउन अभियोग प्रमाणित मन्त्रीलाई बर्खास्त गर्न माग गर्दछौं ।” नेता कँडेलले बोलेलगत्तै एमालेका १५ सांसदले उठेर बैठक अवरुद्व पारेका थिए ।
सभामुख राजबहादुर शाहीले गम्भीर विषय हुँदाहुँदै पनि यसबारे सरकारले आफ्नो धारणा प्रस्तुत गर्ने भएकाले सदनको काम कारबाही अघि बढ्न दिन आग्रह गर्नुभएको थियो । एमालेले बैठक अवरुद्व पारेपछि आधा घण्टाको लागि स्थगित बैठक पुनः सुचारु भएको थियो । बैठकमा शुरु हुनासाथ एमालेका प्रदेशसभा सदस्य करवीर शाहीले तत्काल मन्त्री थापालाई बर्खास्त गर्न माग गर्नुभयो । साथै उहाँले १० वटै जिल्लामा एउटै कम्पनीले अक्सिजन प्लान्ट खरिदको ठेक्का पाउने गरी मिलेमत्तोमा टेण्डर आव्हान गरिएको भन्दै छानबिनको माग गर्नुभयो । उहाँले आफ्नो धारणा राखेपछि एमालेका प्रदेशसभा सदस्यहरु उठेर बैठक अवरुद्व पारेका थिए । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो दुई बजे बस्नेछ ।
वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने क्रममा एमालेबाट निर्वाचित थापाले ‘फ्लोर क्रस’ गर्नुभएको थियो । एमालेबाट निष्काशित थापा लगत्तै भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई किर्ते जालसाजीसम्बन्धी अभियोगमा तत्कालीन जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतले दोषी ठहर गरेको मुद्दा हालै सार्वजनिक भएको हो । मन्त्री थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि जेठ ३० गते सुनुवाइ हुँदैछ ।