जेठ २०, काठमाडौं । शेयर बजार आज पनि निरन्तर उकालो लागेको छ । साताको अन्तिम कारोबार दिन शेयर बजारमा रू. १६ अर्ब ९० करोड ७० लाख २० हजार बराबरको शेयर कारोबार भएको छ ।
यो दिन नेप्से परिसूचक हालसम्मकै उच्च २ हजार ८५६ दशमलव ७७ विन्दुमा पुगेको छ । यस अघि गत आइतवार कायम गरेको २ हजार ८२७ दशमलव ९३ को रेकर्डलाई पनि बिहीवार नेप्से परिसूचकले ब्रेक गरेको हो । यो दिन परिसूचक अघिल्लो कारोबार दिनभन्दा २९ दशमलव ५५ अंक अर्थात् १ दशमलव शून्य ५ प्रतिशतले बढेको हो ।
उता, सेन्सेटिभ इन्डेक्स १ दशमलव ५८ प्रतिशत अर्थात ७ दशमलव ९६ अंकले बढेर ५१३ दशमलव ११ विन्दुमा पुगेको छ । नेप्से परिसूचकले बजारको समग्र कारोबार मापन गर्दछ भने सेन्सेटिभ इन्डेक्सले ठूला कम्पनीहरुको मात्र कारोबार मापन गर्दछ ।
बिहीवारको बजारबाट वित्त, होटल्स तथा पर्यटन र विकास बैंकका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । यो दिन विकास बैंकको समूहगत परिसूचक सर्वाधिक ३ दशमलव ७४ प्रतिशत बढेको छ भने वित्तको ३ दशमलव ३४ प्रतिशत र होटल्स तथा पर्यटनको ३ दशमलव ३२ प्रतिशत बढेको छ ।
त्यस्तै, बैंकिङ्गको २ दशमलव ७१ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव २२ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७५ प्रतिशत, जीवन बीमाको शून्य दशमलव शून्य ३ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव २९ प्रतिशत र लगानी समूहको शून्य दशमलव शून्य ७ प्रतिशत परिसूचक बढेको छ ।
यो दिन जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जलविद्युत् समूहको २ दशमलव शून्य ४ प्रतिशतले परिसूचक घटेको छ ।