जेठ १५ काठमाडौं। आज सरकारले सवा १६ खर्बको बजेट सार्वजनिक गर्दैछ । यो बजेट अहिले ४ बजेपछि अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गर्नेछन् । सरकारको सिफारीसमा राष्ट्रपतिले बजेट अध्यादेशमा लालमोहर लगाईसकेकी छन् ।
गत आर्थिक वर्षको भन्दा यसपालीको बजेट डेढ खर्ब रुपैयाँले बढी हुने छ। सरकारले यसपाली कोभिड नियन्त्रणका लागि आवश्यक पूर्वाधारका साथै खोपको व्यवस्था गर्न बजेट छुट्याउँदैछ।
यसबाहेक सरकारले ३० अर्ब रुपैयाँ निर्वाचनका लागि छुट्याउँदैछ। निरन्तर चलिरहेको परियोजनाहरुले पनि बजेट पाउँदैछन्।
पोहोर सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको थियो।
सरकारले यसपाली राजस्व २१ प्रतिशतले बढ्ने लक्ष्य राखेको छ। गत वर्ष ८ खर्ब ८९ अर्ब ९२ करोड रुपैयाँ राजस्व लक्ष्य राखेको थियो। वैदेशिक अनुदान ६० अर्ब ५२ करोड रुपैयाँ राखेको थियो। यसबाट अपुग हुने ५ खर्ब २४ अर्ब ५० करोड रुपैयाँमध्ये २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण र २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट उठाउने लक्ष्य राखेको थियो।
यसपाली आन्तरिक ऋण २ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढि उठाइने छ भने वैदेशिक ऋण साढे ३ खर्ब उठाउने लक्ष्य छ। सरकारले अनुदान पनि केही बढी आशा गरेको छ।