भेरी अस्पतालमा उपचारमा अहोरात्र खटिरहेका चिकित्सक र नर्समाथि सांघातिक हमला गर्नेहरु बिरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा दायर भएको छ । दागंका डिल्ली बहादुर रावतको उपचारको क्रममा निधन भए पछि त्यसको बिरोधमा उनका आफन्त पर्ने एमालेका प्रदेश कमिटि सदस्य सहित तीनै जनालाई सो मुद्धा अन्तर्गत म्याद थप गरेर हिरासतमा राखिएको छ ।
प्रहरीले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई हिरासतमा थुनेको छ ।
उनीहरुको आक्रमणमा परेका डाक्टर र नर्सहरुले जाहेरी दर्ता गराएको आधारमा मुद्धा दर्ता भएको हो ।
स्वास्थ्यकर्मीमाथिको आक्रमणको चौतर्फी बिरोध भईरहेको छ र दोषीमाथि कडा कार्बाहीको माग भएको छ ।
सुरक्षाको वातावरण नभए काम नगर्ने भन्दै स्वास्थ्यकर्मी आन्दोलित समेत भएका थिए ।
ज्यान मार्ने उद्योग अन्तर्गत सांघातिक हमला गरेको, अस्पतालमा तोडफोड गरेको हिशाबले हेर्दा उनीहरुलाई २५ दिन पछि पुर्पक्षका लागि जेल पठाउने संभावना पनि देखिन्छ । तर त्यस्ता मुद्धामा कतिपय मानिसहरु धरौटीमा समेत रिहा हुने गरेका छन् ।
तर स्वास्थ्यकर्मीमाथि सांघातिक हमला भएको र त्यसको सर्वत्र बिरोध भईरहेकाले उनीहरुमाथि कस्तो फैसला हुने हो त्यो हेर्न बाँकी छ ।