जेठ १४ नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा गएराति एक संक्रमितको मृत्यु भए पछि एक जना डाक्टर र चार जना नर्समाथि सांघातिक आक्रमण गर्ने समुहका मध्य सत्तारुढ नेकपा एमालेका नेता पनि रहेको खुलेको छ ।
पक्राउ परेका मान बहादुर रावत एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य भएको पुष्टी भएको छ । उनी दाङ जिल्लाको सचिवालय सदस्य पनि भएको र यस अघि मेयरको स्वकिय सचिव भएका बेला अभद्र व्यवहार गरेका कारण उनको जागिर गएको र केही बर्ष अघि उनीमाथि बलात्कार मुद्धा समेत चलेको थियो ।
उनी सहित अन्य दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिईसकेको छ । उनलाई सत्तारुढ पार्टीको नेता भएका कारण पँहुचका आधारमा छाड्न सक्ने भन्दै स्वास्थ्यकर्मीहरु अझै काममा फर्कन मानेका छैनन् ।
मान बहादुरको समुहको आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ।
आकमणकारीले पिपिई लगाएका डाक्टर र नर्सको घाँटी समात्ने, लात्तले हान्ने गरेपछि छतबाट समेत हाम फालेर ज्यान जोगाउन सफल भएका थिए भने कतिपय शौचालयमा लुकेर बसेका थिए । शौचालय जाँदा समेत त्याहा पुगेर पनि आक्रोसित समुहले कुटपिट गरेको थियो ।
दोषीमाथि कडा कार्बाहीको माग गर्दै स्वास्थ्यकर्मीले आज बिहान प्रदर्शन गरेका थिए । आक्रमणकारीले अस्पतालमा समेत तोडफोड गरेका थिए ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४र५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए।