कोभिड अस्पतालमा विरामी छट्पटाउँदा वीपी प्रतिष्ठानका उपकुलपतिको भने यस्तो चर्तिकला

कोभिड अस्पतालमा विरामी छट्पटाउँदा वीपी प्रतिष्ठानका उपकुलपतिको भने यस्तो चर्तिकला

  • मङ्लबार, बैशाख २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

सुनसरी, २८ वैशाख । कोभिड–१९ को दोश्रो भेरियन्टले देशभरको स्वास्थ्य क्षेत्र अस्तव्यस्त छ । विरामीहरु हस्पिटलहरुमा अक्सिजन, भेन्टिलेटर र आइसियू नपाएर छटपटिइरहेको बेला प्रदेश १ का जनताको स्वास्थ्योपचारका लागि कोभिड–१९ लेवल ३ अस्पताल सञ्चालन गरेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ ।
प्रतिष्ठान भौतिक रुपमा सुविधासम्पन्न भएपनि पदाधिकारीहरुको कार्यक्षमता र भ्रष्टाचार मानसिकताले थिल्थिलो भएको हो ।
प्रतिष्ठानमा केन्द्र र प्रदेश १ सरकारको साँढे १२ करोड लागतमा एक सय वेडको सुविधा सम्पन्न कोभिड–१९ अस्पताल निर्माण गरिएको भनिएपनि सञ्चालनमा मुस्किलले ३० वेड पनि आएका छैनन् । प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट छ तर, त्यसलाई आधा मात्र चलाएर लाखौं रुपैंयाको अक्सिजन खरिद गरिँदै आइएको छ ।
कोभिड अस्पतालमा विरामीले स्तरीय सेवा नपाइरहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । ‘बाहीरबाट कोभिड अस्पताल एकदमै राम्रोसँग चलेको भनिएको छ । तर, भित्र गएर हेर्दा मात्र थाहा हुन्छ त्यहाँको विकराल अवस्था ।’ प्रतिष्ठानका पदाधिकारी मध्येकै एक जनाको तर्क छ ।
देशभरका अस्पतालहरुले कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै अक्सिजन, भेन्टिलेटर, आइसियू विस्तार गरीरहेका बेला वीपी प्रतिष्ठानमा भने भएको संरचना पनि पूर्णरुपमा चलाइएको छैन । अक्सिजन, भेन्टिलेटरले काम गरेका छैनन् ।

उपकुलपतिको सुरा सुन्दरी मोह
अहिले प्रदेशमै दैनिक दुई सयको हाराहारीमा कोरोना संक्रमित थपिँदै जाँदा कोरोना संक्रमणको भयावह अवस्था आउने देखिएको छ । यस्तोमा प्रदेशकै ठूलो अस्पतालको सेवा सुविधा बृद्धि गर्नुपर्नेमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी चैं दिउसै ‘सुरासुन्दरी’मा मस्त रहने गरेका छन् ।
हामीलाई प्राप्त केही तस्विरहरुमा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको चर्तिकला राम्ररी देखिन्छ । तस्विरहरु कहिलेका हुन् प्रष्ट नभएपनि उनी मोजमस्तीमा रमाईरहेको देख्न सकिन्छ । श्रोतले तस्विरहरु हालसालैको दावी गर्छ ।
प्रतिष्ठानको स्वास्थ्य सेवा ध्वस्त पारेर काठमाडौंमा ‘रंगरलिया’ मनाउँदै उपकुलपतिले संस्थाको आर्थिक संरचना ध्वस्त बनाएको आरोप छ । प्राप्त तस्विरहरुमा उनी विभिन्न विदेशी ब्राण्डेड मदिरासहित महिलासँग देखिएका छन् । तस्विर कहिले र कहाँको हो खुल्न नसकेपनि आजभोली उपकुलपति डा. गिरीको दिनचर्या यसैगरी वितिरहेको प्रतिष्ठानका एक चिकित्सकको भनाई छ । उनले प्रतिष्ठान आफ्नै क्वाटरमा लाखौं खर्च गरेर ‘सिसाको मदीरा गृह’ नै बनाएको चर्चा छ ।

तारे होटलका लाखौंका विल
त्यसो त उपकुलपति डा. गिरी निषेधाज्ञा हुनु अगाडी मात्रै राजधानीमा दुई साता बसेर गएका थिए । महिनामा तीन चारपल्ट प्रतिष्ठानको काम भन्दै राजधानी आउने उनी तारे होटलमा बस्छन् । बुढानिलकण्ठको ‘पार्कभिलेज’, ठमेलस्थित कर्ण शाक्यको ‘काठमाडौं गेस्ट हाउस’ जस्ता आलिसान होटलका स्विटरुममा ‘सुरासुन्दरी’का साथ दिन विताउँछन् । त्यसको सम्पूर्ण खर्च प्रतिष्ठानले व्यहोरिरहेको छ ।
‘प्रतिष्ठानका कर्मचारीलाई मासिक तलब बेलामा खुवाउन नसक्ने उपकुलपति भने प्रतिष्ठानकै श्रोतसाधन प्रयोग गरी मस्ती गर्दैछन्, नियामक निकायले प्रतिष्ठानकोे लेखा छानविन गर्ने होभने होटलका लाखौंको विलहरु प्राप्त हुन्छन् ।’ श्रोतको जिकिर छ ।

कालोसूचीमा रहेकासँगको उठबस
डा. गिरीलाई धरानका मेडिकल सप्लायर्स चेतन अग्रवालले समेत ‘सुरासुन्दरी’ व्यवस्थापन गर्ने श्रोतको दावी छ । चेतन अग्रवाल वीपी प्रतिष्ठानमा हुने हरेक भ्रष्टाचारका ‘नाइके’ हुन् । उनी र उपकुलपति मिलेर कोरोना स्वास्थ्य सामग्री खरिदमा करोडौं भ्रष्टाचार गरेको आरोप छ ।
प्रतिष्ठानको लेखा शाखा, खरिद मुल्यांकन र स्टोरमा उनले आफ्ना पक्षका कर्मचारी राखेका छन् । तिनलाई मासिक नजराना दिँदै उनीहरुको निर्देशन अनुसार टेण्डर हाल्ने, कोटेसन बनाउने र प्रतिष्ठानका गोप्य आर्थिक योजनाहरु लिने गर्दछन् ।
चेतन अग्रवाललाई अख्तियार दुरुपयोग अनुसन्धानले प्रतिष्ठानका विभिन्न स्वास्थ्य सामग्री खरिदमा करोडौं भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा विचाराधिन छ । तत्कालिन उपकुलपति डा. वीपी दाससँग मिलेर राज्यको श्रोत साधनको दोहन गरेका उनी विशेष अदालत त धाइरहेका छन् नै अहिलेका उपकुलपतिसँग मिलेरपनि लूट मच्चाउन सक्रिय छन् ।
पछिल्लो समय अग्रवालले डाइरेक्ट आफ्नो फर्मबाट प्रतिष्ठानमा काम नगरेपनि नेपाल जेसिजका पूर्वउपाध्यक्ष विष्णु बराल र धरान मन्टेश्वरीका सञ्चालक दीपक अग्रवालको फर्मबाट काम गरिरहेका छन् । ‘चेतन अग्रवालका धेरै फर्महरु कालोसूचीमा रहेको र अख्तियारमा पनि मुद्दा भएकाले उनले विष्णु बराल, दीपक अग्रवालसँग मिलेर काम गर्ने गरेका छन् ।’ श्रोत भन्छ ।
उनलाई करोडौं राजस्व छलेको आरोप पनि छ । आन्तरिक राजस्व कार्यालयले उनको सबै सम्पत्ति रोक्का गरी पक्राउ गर्नेसम्मको तयारी गरेको थियो । पुनरावेदन अदालतमा मुद्दा पनि छ ।

आन्दोलन गर्नेलाई लाठी !
अहिले दैनिक रुपमा प्रतिष्ठानमा आन्दोलनहरु भइरहेका छन् । प्रतिष्ठानका शिक्षक कर्मचारीहरु विभिन्न मागहरु राखि आन्दोलित भएका छन् । तीनका जायज माग पुरा गर्नुको सट्टा डा. गिरीले प्रहरी लगाएरै कर्मचारीमाथि लाठी बर्साउने रणनीति अपनाइरहेको कर्मचारीहरुको भनाई छ ।
दुई दिन अगाडी मात्रै कर्मचारीले आफ्नो कार्यकक्षमा लगाएको ताला डा. गिरीले प्रहरी प्रशासन लगाएर फुटाए । आन्तरिक बढुवा, कोरोना जोखिम भत्ता जस्ता मागहरु लिएर कर्मचारीले माग गर्दा उनी त्यसलाई संवोधन गर्नुको सट्टा उल्टै कर्मचारी तर्साउने रणनीति अपनाउँछन् । ‘उपकुलपतिले हामीलाई दास जस्तो ठान्छन् । अब त प्रहरी, स्थानीय टोले गुण्डाहरुले पनि थर्काउन थाले ।’ आन्दोलनरत कर्मचारी तदर्थ समितिका एक सदस्य भन्छन् ।
‘उपकुलपतिज्यूलाई प्रतिष्ठानको कुनै चिन्ता छैन, उहाँ कसरी हुन्छ बढीभन्दा बढी खरिद भुक्तानी गर्न पाए कमिसन आउँछ भन्नेमा लागेका छन् । त्यसका लागि आफ्ना भाई अजय गिरीलाई अगाडी सारेर प्रतिष्ठानको खातापाता र बैंकका चेक नै आफसँग राखेका छन् ।’ श्रोत भन्छ ।

एमसिएचलाई २८ करोड भुक्तानी गर्न दवाव
पछिल्लो समय प्रतिष्ठानमा निर्माणाधिन मातृशिशु भवन (एमसिएच) को भुक्तानीका लागि उपकुलपति डा. गिरीले लेखा शाखालाई चर्को दवाव दिइरहेका छन् । विवादित वहुवर्षीय योजना अन्तरगत निर्माणाधिन एमसिएचको २८ करोडको रनिङ विल आएकोमा उपकुलपतिले प्रतिष्ठानकै आन्तरिक श्रोतबाट भुक्तानी दिन दवाव दिइरहेको लेखा शाखाका एक कर्मचारीले बताए ।
‘आन्तरिक श्रोत सुकिसक्यो । रिटेन्टसन मनी, विद्यार्थीको धरौटी, ठेकेदारको धरौटी, बैंकको ओभर ड्राफ्टबाट कर्मचारीलाई तलब खुवाइएको छ । प्रतिष्ठान धरासायी भएकोे देख्दादेख्दै उपकुलपतिले आन्तरिक श्रोतबाट ठेकेदारलाई भुक्तानी दिन भनिरहेका छन् ।’ श्रोत भन्छ । कोरोना संक्रमणले प्रतिष्ठानको स्वास्थ्य सेवाको आम्दानी ८० प्रतिशत खस्किएको छ । फिक्स डिपोजिटबाट ओडी लोन लिएर शिक्षक कर्मचारीहरुलाई तलब खुवाइएको छ ।

एमसिएचको ३६ करोड फिर्र्ता
प्रतिष्ठानमा निर्माणाधिन एमसिएचको ३६ करोड रुपैंया स्वास्थ्य मनत्रालयले तानेको छ । मन्त्रालयले २ वर्षदेखि दिएको उक्त रकम खर्च नगर्दा बजेट फिर्ता भएको हो । ‘एमसिएचको २ वर्षको ३६ करोड स्वास्थ्य मन्त्रालयले पठाएकोमा कामै भएको थिएन । महालेखाले बेरुजुमा राख्यो । संस्थाको बेरुजू र्फछयौट होस भनेर मन्त्रालयमा पठाइयो ।’ श्रोत भन्छ ।
हरेक आर्थिक वर्षको अन्त्यमा खर्च नभएको बजेट असार २५ भित्र सञ्चय कोषमा दाखिला गर्नुपर्दछ । एमसिएचको बजेट २ वर्षदेखि खर्चगर्न नसकेपछि महालेखाले बेरुजूमा राखिदिएको छ ।

स्वास्थ्यको कूल बेरुजुको एक तिहाई प्रतिष्ठानको मात्रै

त्यसो त महालेखा परीक्षकको कार्यलय अनुसार प्रतिष्ठानको बेरुजू मात्रै १ अर्ब ८ करोड बढी छ । स्वास्थ्य मन्त्रालयको टोटल बेरुजू मध्ये एक तिहाई बेरुजू प्रतिष्ठानको छ । प्रतिष्ठानले २०६० साल यता बेरुजू र्फछ्यौट गर्न सकेको छैन । मन्त्रालयले हरेक वर्ष बजेट विनियोजन गरेपनि प्रतिष्ठानले र्फछ्यौट नगरेकाले पछिल्लो समय मन्त्रालयले वीपी प्रतिष्ठानलाई कम बजेट दिइरहेको छ ।

विवादित एमआरआईको ठेक्का रद्द गर्न चलखेल

प्रतिष्ठानले हस्पिटेक इन्टरप्राइजेजबाट खरिद गरेकोे एमआरआइको १७ करोडको पनि र्फछ्यौट गरेको छैन । अर्को एमआरआई खरिद प्रकरण सर्वोच्चमा मुद्दा चलिरहेको छ । डा. रौनियारको पालामा खरिद गर्ने भनिएको एमआरआई मुद्दा टुंग्याउने विषयमा उपकुलपति अनुदार छन् । हस्पिटेककै विशाल पण्डितसँग उपकुलपतिले बखेडा निकालिरहेका छन् । पण्डितले त्यहि भएर सर्वोच्चमा विचााधिन मुद्दा आफु अनुकुल फैसला नहुन्जेल मुद्दा सारिरहेका छन् । उपकुलपतिको चाहना उक्त एमआरआईको टेण्डर रद्द गरेर अर्कैलाई दिनु छ ।

खस्कँदो वित्तीय अनुशासन

प्रतिष्ठानको वित्तीय अनुशासन अत्यन्त विग्रिएको छ । २०६० सालदेखि यताका खरिद प्रक्रियामा समस्या देखिएको छ । जसमध्ये अधिकांश फायलहरु अख्तियारले तानेर अनुसन्धान गरिरहेको छ ।
आर्थिक संकटले थिल्थिलो हुँदै गएको प्रतिष्ठानलाई उक्साउन डा. गिरीले नत सरकारसँग राम्ररी लविङ गर्न सकेका छन् नत स्थानीय तहसँग नै । नत प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकसँग नै उनी राम्ररी प्रस्तुत हुन्छन् । आजभोली डा. गिरीले जतिसक्दो प्रतिष्ठानको श्रोत साधन सिध्याएर आफु मोटाउने रणनीतिमा छन् । ०७४ सालको आम निर्वाचनमा भानुभक्त ढकाललाई सहयोग गरेवापत उपहारमा पाएको उपकुलपति पदलाई डा. गिरीले चरम दुरुपयोग गरेको आरोप छ ।
प्रतिष्ठानका पदाधिकारीहरुले कुनैपनि गलत निर्णय गरे, प्रतिष्ठानको अहितमा काम गरे खबरदारी गर्ने काम कार्यकारिणी समिति र प्रतिष्ठानका शिक्षक, कर्मचारी कल्याण समाजको हो । तर, प्रतिष्ठानको कार्यकारिणी समितिका सदस्य र युनियनका पदाधिकारीहरु उपकुलपतिका गलत निर्णयमा फड्के साक्षी बसिरहेका छन् ।
कुनैबेला शिक्षा, स्वास्थ्य र अनुसन्धानको क्षेत्रमा दक्षिण एसियामै उत्कृष्ठ स्वास्थ्य संस्थाको पहिचान बनाएको वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान अहिले एउटा जिल्लाको सामान्य अस्पताल जत्तिको पनि छैन । दक्ष र योग्य पदाधिकारीहरुको अभावमा प्रतिष्ठान डुब्दै गएपनि त्यसलाई बचाउन, सुधार्न कसैको चासो देखिएको छैन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी