बैशाख २७ काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई दिएको अल्टिमेटम सकिए पनि प्रधानमन्त्री ओलीले कुनै जवाफ दिएनन् । आइतबार बसेको खनाल नेपाल पक्षीय सांसदको बैठकले पार्टी एकताका लागि उनलाई अल्टिमेटम दिएको थियो ।
ओलीले सोमबार बिहान ९ बजेसम्म गत फागुन २८ गते गरेको निर्णय फिर्ता र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त भनेको थियो । तर त्यो समयमा ओलीबाट कुनै प्रतिबद्धता नआएपछि खनाल नेपाल पक्षले सांसदको बैठक बोलाएको छ ।
खनाल नेपाल पक्षले अब बैठक बसेर संसदबाट राजीनामा दिने तयारी गरेको स्रोतको दाबी छ ।खनाल नेपाल समुहका सांसदहरु राजीनामा दिने तयारीका साथ संसद भवन जान लागेको बुझिएको छ ।
विश्वासको मत लिन बोलाएको प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै छ । यसका लागि सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको विश्वासको मत समेटिएको छ ।
संसद् बैठकको सुरुवातमा सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् ।
त्यसपछि उनले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यतालिका तय भएको छ । आजै पुनः प्रतिनिसभा अर्को बैठक बस्ने र विश्वासको मत उपर कारबाही प्रक्रिया अघि बढ्नेछ ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागे पनि त्यसका लागि आवश्यक संख्या भने पुगेको छैन ।