बैशाख २३ नेपालगन्ज । बाँकेमा कोरोनाका कारण हुने मृत्यु दिनहुँ बढिरहेको छ । केवल १२ घण्टामा १० संक्रमितले ज्यान गुमाएका छन् । बुधबार साँझ सवा ६ बजेदेखि बिहीबार बिहान ७ बजेसम्ममा १० जनाको मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार मृत्यु हुनेमा ९ जना बाँके र एकजना जाजरकोटका रहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका–१२ का ४५ वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१० की ७८ वर्षीया महिला, नेपालगन्ज उपमहानगरपालिका–१ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, नेपालगन्ज उपमहानगरपालिका–१० का २७ वर्षीय युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–४ का ५५ वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१० का ७८ वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषका साथै कोहलपुर नगरपालिका–५ का ३४ वर्षीय पुरुषको छन् । यसैगरी, भेरी नगरपालिका जाजरकोटकी ४३ वर्षीया महिलाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–१ का ५६ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहीबार बिहान ७ बजे मृत्यु भएको हो । यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५७ जना पुगेको छ ।