वैशाख १८, काठमाडौँ । एफसी चितवनलाइ हराउदै धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
लगातार खेल खेल्न बाध्य रहेको धनगढीले आज चितवनलाई ३–० ले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन निशान लिम्बु, ओलावाले आफिज र बुद्ध बल तामाङले एक एक गोल गरे ।
यो खेलपछि धनगढीको चार खेलबाट सात अंक भएको छ । जितपछि धनगढीले शीर्ष चार स्थानका लागि बलियो दावेदारी पनि प्रस्तुत गरेको छ । चितवन भने तीन खेलबाट दुई अंकमा सीमित रह्यो र अन्तिम स्थानमा झ¥यो ।
सुरुआती दुई खेलमा बराबरी खेलेपछि यो चितवनको पहिलो हार रह्यो । यो स्थितिमा चितवन दबाबमा रहनेछ । धनगढीले ६३ औं मिनेटमा पहिलो गोल गरेको थियो र यो निशान लिम्बूको नाममा रह्यो ।
नाइजेरियाली खेलाडी ओलाडिपो ओलावाले आफिजले हेडबाट दोस्रो गोल गरे । बुद्धबल तामाङले ७९ औं मिनेटमा तेस्रो गोल थपे । पहिलो हाफमा चितवनले गोलको राम्रो अवसर गुमाएको थियो ।
खेलको २२ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको प्रहार धनगढीको गोलरक्षक किरण लिम्बूले जोगाए र त्यसमै फर्केको बलमा जेरकोभिच गोरानको प्रहार पोस्टमा लागेको थियो । दोस्रो हाफको ७८ औं मिनेटमा गोरानको प्रहारले पोस्टका दिशा लिए पनि त्यो अफ साइड रह्यो ।
खेलमा धनगढीका निशान लिम्बु प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच धनगढीकै बुद्ध बल तामाङ चुनिए । उनले १० हजार प्राप्त गरे ।