पर्सा १२ बैशाख । पर्सा प्रहरीले अवैध दुई थान हतियार र लागू औषधको कारोबार गर्ने गिरोहलाई वीरगन्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक प्रहरी जवानसहित ८ जना रहेका छन्।
हतियार र लागूऔषध बरामद भएपछि जिल्ला प्रहरी कार्यालय पर्सामा नबुझाइ लुकाएर राखेको आरोपमा एक प्रहरीलाई पनि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।
रौतहटको सखुवा नगरपालिका १ घर भइ जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान अवधेश यादव, मकवानपुरको मनहरी गाउँपालिका ५ का २५ वर्षीय राजु रानामगर, पर्साको वीरगन्ज महानगरपालिका १२ मुर्लीका ४३ वर्षीय लालबाबु सिंह, ३५ वर्षीय श्यामबाबु कुशवाहा, ४२ वर्षीय अरविन्दप्रसाद गुप्ता, ४२ वर्षीय कुँवर सिंह, वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का २४ वर्षीय नन्दन सिंह र रोशन सिंह पक्राउ परेका हुन्।
गत बुधबार भारतको सीमावर्ती रक्सौल बजारबाट वीरगन्जतर्फ आउने क्रममा शंकराचार्य गेट नजिकै प्रहरीले चेक गर्दा मकवानपुरको मनहरी गाउँपालिका– ५ बस्ने २५ वर्षीय राजु राना मगरको साथबाट ‘सनमाइका’ लेखेको स्वचालित पेस्तोल र त्यसमा प्रयोग हुने दुई थान म्याग्जिन बरामद भएको थियो । एसपी पाण्डेका अनुसार प्रहरीको अनुसन्धानमा मगर विगत ८/९ वर्ष अगाडिदेखि लागूऔषध दुर्व्यसनी रहेको र पछिल्लो ५ वर्षदेखि भारतको रक्सौलबाट लागूऔषध खरिद गरी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लागूऔषधका कारोबारीहरुलाई बिक्री गर्दै आएका थिए ।
उनीहरुको साथबाट स्वचालित पेस्तोल २ थान, म्याग्जिन २ थान, लागूऔषध डाइजिपाम, नुर्फिन र फेनार्गन गरेर ३ सय एम्पुल र निट्राभेट ट्याब्लेट १ हजार २ सय पिस बरामद भएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।