बैशाख ९ काठमाण्डौं । प्रदेश २ मा राजधानी कहाँ राख्ने भन्ने बहस भईरहेका बेला संघर्ष समितिले स्थायी राजधानी सर्लाहीमा राख्न माग गरेको छ ।
स्थायी राजधानी सर्लाही संघर्ष समितिका संयोजक चन्द्र भुषण शाहले एक विज्ञप्ति जारी गरी प्रदेशहरुको स्थायी राजधानी तोक्ने सवालमा देशका ७ मध्य ६ प्रदेशले आ–आफ्नो स्थायी राजधानी तोकिसक्दा समेत प्रदेश २ सरकार आफ्नो स्थायी राजधानी र नाम समेत तोक्न हालसम्म असमर्थ रहनु पछौटेपनको आफैंमा एउटा भद्दा नमुना एवं हामी सारा प्रदेशवासीहरुको साझा अपमानको विषय भएको बताएका छन् ।
प्रदेश २ को भौगोलिक, आर्थिक, सामाजिक एवं राजनीतिक क्षेत्रको दुरगामी प्रभाव एवं महत्वलाई मध्यनजर÷आत्मसात गर्ने हो भने, प्रदेशको स्थायी राजधानीका लागी केहि विकल्पहरु छन, जसमध्य सर्लाही लगभग हरेक हिसाबले सर्वोत्तम विकल्प हो । प्रदेश नं. २ को पूर्वी जिल्ला सिरहा–सप्तरी र पश्चिमी जिल्ला बारा–पर्साको बिच÷मध्य भूगोलमा अवस्थित सर्लाही एउटा पुरानो विरासत बोकेको स्थान हो । विज्ञप्तिमा भनिएको छ ।
प्रदेश नं.२ को पश्चिम भूगोलमा रहेको विरगंजलाई व्यापारिक तथा औद्योगिक केन्द्र, पूर्वी भूगोलमा रहेको जनकपुरलाई धार्मिक तथा पर्यटन केन्द्र र सर्लाहीलाई प्रदेश प्रशासनिक केन्द्रको रुपमा अगाडि बढाउन सके मात्र सबै प्रदेशवासीहरुको साझा जनभावनाको सही अर्थमा कदर हुनेछ । प्रदेश २ को प्रख्यात नगरी लालबन्दी–नवलपुर, हरिवन, बरहथवा, मलंगवा, तथा महोत्तरीको गौशाला र बर्दिबासको समीपमा रहेको ईश्वरपुर–बयलबाँस बृहत्तर नगरीमा प्रदेशको स्थायी राजधानी भएको खण्डमा सागरनाथ, राजारानी थुम्को, प्राकृतिक जलकेश्वर महादेव, कैलाशपुरी महादेव मन्दिर, मुर्तिया, सतिविहुला–जयाविषहर, नाढी ताल, टुटेश्वरनाथ लगायतका स्थानहरुलाई जोडेर मिनी पर्यटन सर्किट बनाउन सकियो भने, प्रदेश नंबर २ मा थप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको प्रचुर सम्भावना बढेर जानेछ । जसबाट प्रदेश नं २ को साथसाथै सिङ्गो मुलुकको पनि चौतर्फि आर्थिक समृद्धि एवं विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने निश्चित छ । शाहद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रदेश नंबर २ को स्थायी राजधानी सर्लाहीमा नै उपयुक्त हुने आधारहरुः
१. प्रदेश नं. २ को बीच (मध्य) भू–भागमा अवस्थित,
२. पुर्व–पश्चीम राजमार्गसंग जोडिएको,
३.नव निर्माणको लागि मितव्ययी,
४. पुरानो संरचनाको क्षति गर्न‘नपर्ने,
५. उपयुक्त समतल सरकारी जग्गाको पर्याप्त उपलब्धता,
६. नेपाल सरकारको शहरी विकास मन्त्रालयबाट नयाँ शहर निर्माण भैरहेको,
७. भाषिक, धार्मिक तथा सांस्कृतिक पहिचानले भरिपुर्ण,
८. निजी जग्गा अधिग्रहण गर्न‘पर्ने बाध्यता नरहेको,
९. प्राकृतिक – वातावरण अनुकूल भएको,
१०. सामाजिक सद्भाव र शक्ति सन्तुलनले समेत उपयुक्त,
११. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको प्रचुर सम्भावना,
१२. समानुपातिक एवं सन्तुलित विकास कार्यमा सहयोग ,
१३. राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको एयरपोर्ट निर्माणको प्रवल सम्भावना रहेको,
१४. सर्लाहीको प्रख्यात नगरी लालबन्दी, नवलपुर–हरिवन, बरहथवा, मलंगवा, हरिपुर्वा तथा महोतरीको गौशाला, र बर्दिबासको केन्द्र बिन्दुमा अवस्थीत रहेको,
१५. विना कसैको हार सबैको जीतै – जीतकैं अवस्थामा स्थायी राजधानी विवाद अन्त्य,
१६..राजधानी निर्माणको नाममा सरकारी ढुकुटी लुट्ने एवम् भ्रस्टाचारको सम्भावना अति न्यून ।
यदी आफूहरुको माग पूरा नभए कडा भन्दा कडा संघर्षको कार्यक्रम ल्याउन बाध्य हुने पनि शाहले चेतावनी दिएका छन् ।