च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा थुनियो

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा थुनियो

  • बिहिबार, बैशाख ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

मनाङ, ९ वैशाख  । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिनुभयो ।

बुधबार बिहान ७ बजेको समयमा च्याङ्ग्राको गोठमा पुगेका गोठालोले चितुवाले खोरभित्रै च्याङ्ग्रा खाँदै गरेको अवस्थामा भेटेका थिए । सोही समयमा गोठालोले च्याङ्ग्रा खोरको ढोका लगाइदिए पछि खोरभित्रै हिँउ चितुवा थुनिएको हो । हिउँ चितुवा थुनिएसँगै गाउँलेले जिल्ला प्रशासन कार्यालय मनाङ, अन्नपूर्ण संरक्षण क्षेत्र र नेपाल प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा हिँउ चितुवाको उद्धारका लागि नार्पा भूमि च्याखुमा रहेको नेपाल प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)का कर्मचारी पुगेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिनुभयो । हिउँ चितुवा उद्धारका लागि घटनास्थलमा पुगेको भए पनि खराब मौसमका कारण कसरी उद्धार गर्ने जानकारी प्राप्त भइनसकेको उहाँले बताउनुभयो ।

पीडित पक्षले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनासँग राहत उपलब्ध गराउन माग गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले पीडत पक्षलाई राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हिउँ चितुवालाई सम्बन्धित निकायमा लैजाने तयारी गरिएको र उद्धारका लागि आवश्यक सामग्री नहुँदा खोरभित्रै हिउँ चितुवा थुनिएर बसेको जनाइएको छ ।

हिउँ चितुवा ठूलो बिरालो प्रजातिको मांसाहारी जनावर हो । यो दक्षिण एशिया तथा मध्य एशियाका हिमाली क्षेत्रमा पाइन्छ । हिउँ चितुवा समुद्री सतहबाट तीन हजारदेखि पाँच हजार ५०० मिटर उचाइबीचका चट्टानी हिमाली क्षेत्रमा बसोबास गर्छ । लुकेर रहने स्वभावका कारण यिनीहरूको यकिन सङ्ख्या भने थाहा हुन सकेको छैन । खुला जङ्गली क्षेत्रमा तीन हजार ५०० देखि सात हजारको सङ्ख्यामा तथा विश्वका चिडियाघरमा ६०० देखि ७०० को सङ्ख्यामा हिउँ चितुवा रहेको अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ