स्थानीय तह गठन भएको वर्षौं बित्यो तर अझै एउटा दमकल खरिद गरेनन् यी आठ पालिकाले

स्थानीय तह गठन भएको वर्षौं बित्यो तर अझै एउटा दमकल खरिद गरेनन् यी आठ पालिकाले

  • शनिबार, बैशाख ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 24K
    SHARES

स्थानीय तह गठन भएको वर्षौं बितिसक्दासमेत यहाँका आठ वटा पालिकाले अहिलेसम्म दमकल किन्न सकेका छैनन् । सात गाउँपालिका र दुई नगरपालिकासहित नौ वटा स्थानीय तह रहेको डोटीमा आठ वटा स्थानीय तहसँग बारुणयन्त्र (दमकल) छैन । यहाँका पालिकामा रहेका बजारमा वा अन्य कुनै घरमा आगलागी हुँदा दमकल नभएका कारण निकै समस्या हुँदै आएको छ । पछिल्लो समय यहाँका सामुदायिक वनमा लागेको आगो शहर तथा बजारमा पस्न थालेपछि दमकलको अभाव खड्किन थालेको स्थानीयवासी बताउँछन् ।

गाउँमा सडक पु¥याउन डोर किन्ने कामदेखि आफ्ना लागि चढ्न प्रायः सबै पालिकाले गाडी किनेको भए पनि दमकल किन्न भने कसैले चासो देखाएका छैनन् । आगलागी नियन्त्रणका लागि दमकल आवश्यक चिज हो भन्ने जाने पनि त्यसको बेवास्ता गर्दै यहाँका स्थानीय तहले अहिलेसम्म नकिनेको बडिकेदार गाउँपालिका–१ का स्थानीयवासी रोजबहादुर कलेलले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “बाटो खन्न डोजर किन्ने, आफी चढ्न गाडी किन्ने आगो निभाउन दमकल नकिन्ने जनप्रतिनिधि छन्, कसलाई के भन्ने । अहिले जताततै आगलागी भएको छ, निभाउन गाह्रो भयो ।”

जिल्लामा रहेका नौवटै स्थानीय तहमा यातायातको पहुँच भए पनि दिपायल सिलगढी नगरपालिकाबाहेक कुनै पनि स्थानीय तहसँग दमकल छैन । यस नगरपालिकामा दुई दमकल भए पनि एउटा वर्षांैदेखि प्रयोगविहीन अवस्थामा थन्किएको छ भने दुई वर्ष पहिले किनिएको एउटा दमकलले मात्रै काम चलाउँदै आएको छ ।

यातायातले स्थानीय तहका केन्द्र जोडे पनि अधिकांश गाउँबस्ती सडक पहुँच बाहिर रहेकाले दमकलको प्रयोग गर्नसमेत सम्भव नरहेको जनप्रतिनिधि बताउँछन् । भौगोलिक कठिनाइ र भएका सडकसमेत सञ्चालन नहुँदा दमकल खरीद गरे पनि प्रयोगमा चुनौती देखिने उनीहरुको भनाइ छ । डोटी जिल्लाका अधिकांश स्थानीय तहका वडा कार्यालय तथा बस्ती भिरपाखामा भएका कारण आगलागी हुँदा दमकलको प्रयोग गर्न सम्भव नरहेका कारण किन्न नसकिएको सुदूरपश्चिम गाउँपालिका महासङ्घ तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय तहले दमकल किन्न नसक्ने भन्ने त होइन हाम्रा गाउँ बस्तीहरु सडक पहुँचबाट टाढा र भिर क्षेत्रमा भएकाले त्यहाँ दमकल लैजान समस्या हुने देखिएपछि नकिनिएको हो, तैपनि किन्ने प्रयास गर्दैछौँ ।” जनप्रतिनिधिले नचाहेर दमकल नकिनेको भन्ने आरोप गलत भएको उहाँको भनाइ छ ।

पछिल्लो समय यहाँका सामुदायिक वनका लागेको आगो नियन्त्रणका गर्नका लागि सबै पालिकासँग दमकल भएको भए निकै सहज हुने जोरायल गाउँपालिका–२ बुडरका वासिन्दा लोकबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “समुदायिक वनमा लागेको आगो केही दिन पहिले यहाँको राजमार्गसँगै जोडिएको भट्टी बजारमा आउँदा तीन घर पसल जलेर नष्ट भए, दमकल भएको भए निभाउन सजिलो हुने थियो, दमकल किन्न कसैले चासो दिदैनन्, आगलागी हुँदा बाल्टिनमा पानी बोकेर निभाउन जानुपर्ने अवस्था छ ।”
जिल्लामा रहेका ३६० वटा सामूदायिक वन तथा केही सरकारी वनमा लागेको आगोले अहिले सयौँ हेक्टर जमीन तथा त्यसमा उम्रिएका जडीबुटी जलेर सखाप भएका छन् । यहाँका वन क्षेत्र नजिकका कतिपय घरमा समेत क्षति पुगेको छ । यतिमात्र नभई आगलागीका कारण वासस्थान नासिँदा वन्यजन्तु मानव बस्तीतर्फ आउने र मारिने क्रमसमेत निकै बढेको डिभिजनल वन कार्यालय डोटीले जनाएको छ ।

वन क्षेत्रमा अधिकांश आगलागीका घटना मानवीय कारण हुने गरेको डिभिजनल वन कार्यालयका प्रमुख शम्भु तिवारीको आरोप छ । आकस्मिकरुपमा हुँने आगलागी निभाउने यन्त्र नहुँदा आगलागीबाट जिल्लामा वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहले दमकल सञ्चालन गर्ने व्यवस्था गरे पनि हालसम्म यससम्बन्धी कार्यविधि नबनेका कारण दमकल खरीद प्रक्रिया अघि बढाउन नसकिएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “आम नागरिक हामीलाई दमकल किनेन् भन्छन्, दमकल सञ्चालन गर्ने कार्यविधि नबन्दा हामीलाई पनि समस्या उत्पन्न भएको छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ