काठमाडौँ, १७ चैत । आगामी तीन दिनसम्म मौसम स्थिर अवस्थामा रहिरहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको धेरै जसो स्थानको वायुमण्डल अझै स्थिर अवस्थामै रहेको छ । यही कारण प्रदूषणका कण छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिन गएको जनाइएको छ । देशको अधिकाश जिल्लाका धेरै ठाँउमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कण वायुमण्ड मै सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागले जनाएको छ ।
खासगरी राजधानि काठमाडौँलगायतका शहरहरु जहाँ पहिलेदेखि नै प्रदूषणको स्तर सामान्यभन्दा अधिक भएको छ । त्यस्ता ठाँउमा तुवाँलो अत्याधिक भएकाले वायुमण्डलको पारदर्शिता उल्लेखनियरुपले न्यून हुन गई जनजीवन असामान्य हुन गएको बताइएको छ ।
आगामी तीन दिन मौसम सुधार हुने अवस्था नदेखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार आजबाट पारदर्शिता केही बढ्ने सम्भावना रहेको छ । सोमबार देशको केही स्थानमा फाटफुट वर्षाका साथै हल्का हावा चलेको कारण पारदर्शिता बढेको बताइएको छ । “मौसम पूर्णरुपमा सुधार हुने अवस्था भने तत्काल देखिएको छैन् ।” मौसमविद् नगरकोटीले भन्नुभयो ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुसमेतको आंशिक प्रभाव रहेको छ । दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागकै एक–दुई स्थानमा मेघगर्जन, चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।
फुङ्लिङ तुवालोले अध्यारो भयो
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपातभएसँगै ताप्लेजुङको सदरमुकाम आज बिहानदेखि तुवालोले अध्यारो बनाएको छ । हिमाली बस्ती घुन्सामा तीन दिनदेखि हिमपात भएको स्थानीय पेमा शेर्पाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “तीन दिन भयो हिउँ पर्दै रोक्दै गरेको । आज पछि हिउँ पर्दै छ ।” हिउँ परेपछि चिसोका कारणले जनजीवनसँगै पशु चौपाय प्रत्यक्ष प्रभावित हुन पुगेको उहाँले बताउनुभयो । घुन्सा समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइँमा अवस्थीत एक पर्यटकीय क्षेत्र हो ।
फक्ताङलुङ–७ ओलाङ्गोलमा भने हिउँ नपेर पनि तीन दिनदेखि गाउँ नै अध्यारो भएको स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले त जङ्गलमा आगलागी भएछ, भनेर तलसम्म झरेर हेर्यो । आगलागी भएको हैन् रहेछ । ” ओलाङचुङगोलामा तुवालो तीन दिनदेखि गाउँ नै अध्याँरो बनाएको तेन्जिङ वालुङले जानकारी दिनुभयो ।
त्यस्तै ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आज बिहान नैदेखि तुवालोले पुरै बजार अध्याँरो भएको छ । तुवालोका कारणले प्रत्यक्ष स्वास्थ्यमा प्रभाव पर्ने जनाउँदै सरकारको आइतवारको चार दिन विद्यालय विदा दिने निर्णय गरेसँगै आजदेखि जिल्लाका सबै सामुदायिक विद्यालय बन्द भएका छन् ।