आजदेखि मेलम्चीको पानी वितरण गरिदैँ, अनामनगर क्षेत्रका १६ सय धारामा चौबिसै घण्टा पानी दिइने

आजदेखि मेलम्चीको पानी वितरण गरिदैँ, अनामनगर क्षेत्रका १६ सय धारामा चौबिसै घण्टा पानी दिइने

२० दिनभित्र १७ करोड लिटर ल्याउने तयारी

  • आइतवार, चैत्र १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.8K
    SHARES

चैत १५, काठमाडौँ । आजदेखि मेलम्चीको पानी उपभोक्ताको घरघरमा पुग्दै छ । पहिलो दिन चार करोड लिटर पानी वितरण गरिनेछ ।

गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आइतबारदेखि उपभोक्ताको घरमा पठाइने भएको हो ।

पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को पुरानै प्रणालीबाट वितरण गरिनेछ । सुरुमा विभिन्न स्थानमा रहेका रिजर्भ ट्यांकीमा पानी जम्मा गरिने र त्यसपछि वितरण प्रक्रिया थालिने केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।

मेलम्चीको सुरु क्षमता १७ करोड लिटर हो । तर पहिलो दिन नै १७ करोड लिटर पानी नआउँने उनले बताए ।
तत्काललाई दिनको चार करोड लिटर पानी मात्रै परीक्षणका रूपमा वितरण गर्ने राईले बताए । अहिले पानी आउने सुरुङ र वितरण लाइन दुवैको परीक्षण गर्न लागिएको हो । यसमार्फत पानी कसरी सामानुपातिक रूपमा सबैका धारामा पुग्छ भन्ने परीक्षण पनि हुनेछ । बाँकी पानीका लागि आफ्नै स्रोत प्रयोग गरिनेछ जानकारी दिदैँ राईले करिब २० दिनभित्र १७ करोड लिटर नै पानी आउने बताए ।

अहिले नयाँ रिजर्भ ट्यांकी खुमलटारको मात्र प्रयोग हुनेछ । केयूकेएलका मीनभवन, अनामनगर, बाँसबारी, महांकालचौर, महाराजगन्ज, बालाजुलगायत स्थानका ट्यांकी प्रयोग हुनेछन् ।
उता, अनामनगर क्षेत्रमा नयाँ लाइनका १६ सय धारा छन् । तिनमा पाइलट प्रोजेक्टका रूपमा चौबिसै घण्टा पानी दिने योजना रहेको राईले बताए । अन्यत्र रोटेसन बेसमा वितरण गर्ने गरी तयारी उनले बताए केयूकेएलको सेवाभित्र २ लाख २५ हजार धारा छन् । पहिलो दिन नै यी सबै धारामा पानी पुर्‍याउन लागिएको उनले जानकारी दिए । नयाँ पाइप परीक्षण गर्न समय लाग्छ ।

पीआईडी र केयूकेएलले समन्वय गरेर पानी वितरण गर्नेछन् । उत्यकामा दैनिक पानीको माग ४३ करोड लिटर रहेकोमा ३१ करोड लिटर अपुुग छ । केयूूकेएलले दैनिक आठ करोड लिटर मात्रै वितरण गर्न सकेको छ भने निजी क्षेत्रले दैनिक करिब चार करोड लिटर वितरण गर्दै आएको छ । मेलम्ची खोलाको पानी पहिलो चरणमा दैनिक १७ करोड लिटर आएपछि केयूकेएलको क्षमता दैनिक २९ करोड लिटर पुग्ने छ । सुक्खा सिजनमा करिब १० करोड लिटर ग्राहकका धारासम्म पानी पुर्‍याउन सकिने आयोजनाले बताएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका करिब ५० लाख जनसंख्याले यो पानी उपभोग गर्न पाउनेछन् ।

मेलम्ची खानेपानी आयोजना २०५५/५६ बाट सुरु भएको हो । राष्ट्रिय गौरवका रूपमा रहेको यो आयोजना आर्थिक वर्ष ०७१/७२ सम्पन्न गर्ने लक्ष्य थियो । तर विविध कारणले मेलम्चीको पानी २०७७ मा मात्र आयो ।

मेलम्ची खानेपानी आयोजनाकै दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी उपत्यकामा भित्र्याउने लक्ष्य छ । दोस्रो चरणमा लोर्के खोलाको १७ करोड लिटर र याङ्ग्री खोलाको १७ करोड लिटर पानी अहिले निर्माण भएका संरचनाबाटै उपत्यका भित्र्याएपछि भने दैनिक आपूर्ति ५१ करोड लिटर पुग्ने छ । त्यसपछि उपत्यकामा खानेपानीको समस्या हल हुने अपेक्षा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ