१० चैत, काठमाडौं । काठमाण्डौमा आजबाट शुरु भएको थ्री नेसन्स कपमा बंगलादेशले बिजयी शुरुवात गरेको छ । कीर्गिस्तानले आत्मघाती गोल गर्दा बंगलादेश एक शुन्यले बिजयी बन्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा किर्गिस्तानका कुमारबाज उलु बेइमनले आत्मघाती गोल गर्दा बंगलादेशले जित हात पारेको हो । खेलको ३०औं मिनेटमा आत्मघाती गोलको मद्दतमा बंगलादेशले अग्रता लिएको थियो ।
बंगलादेशका फरवार्ड साद उद्दिनको क्रस गरेको बलमा किर्गिस्तानका कुमारबाज उलु बेइमानले आफ्नै पोष्टमा गोल गरे ।
फरवार्ड मेहदी हसन तथा डिफेण्डरद्वय रिमोन होसेन रहबीबुर रहमान सोहागले पहिलो पटक बंगलादेशी टिमबाट खेलेका थिए ।
पहिलो खेल जित्दै बंगलादेश फाइनल नजिक पुगेको छ । तीन टिमबीच सिंगल राउण्ड रोविन लिगको खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
अब बिहिबार नेपालले कीर्गिस्तानसँग खेल्नेछ ।