चैत्र ८, झापा । ४० वर्षपछि भारतीय जेलबाट छुटेका दुर्गाप्रसाद तिम्सिना आइतबार बिहानै नेपाल आइपुगेका छन् । उनी आजै इलाम माई नगरपालिका १० स्थित घर पुग्ने छन् ।
त्यसअघि झापामा पत्रकार सम्मेलन गरेर दुर्गालाई परिवारको जिम्मा लगाईने विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नतले जनाए ।
कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा उनलाई नेपाल पठाइएको हो । पत्रकार सम्मेलनपछि उनलाई इलाम माई नगरपालिका १० स्थित घर पुर्याइने छ ।
भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) मा रहेका उनी कोलकाता उच्च अदालतको आदेश बमोजिम शनिबार छुटेका हुन् । शारीरिक र मानसिक रुपमा कमजोर उनलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुगेका थिए ।
अदालतले उनको दिमागी हालत ठीक नभएको भन्दै घरमै राखेर उपचार गर्नसमेत आदेश गरेको छ । क्षतिपूर्तिका सन्दर्भमा भने अदालत मौन छ । दुर्गाप्रसादका पक्षमा बहस गरेका वकिल हिरक सिन्हाका अनुसार हरेक ६ ६ महिनामा उनको मानसिक अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्नेछ । त्यसपछि महावाणिज्य दूतावासले अदालतलाई जानकारी गराउनेछ ।