पोखरा, ७ चैत ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले विश्व बजारसँग प्रतिष्पर्धा गर्ने खालको पर्यटन व्यवसायको आवश्यकता रहेको बताउनुभएको छ ।
नेपाल एशोसिएशन टुर एण्ड टाभल्स एजेन्ट्स (नाट्टा) गण्डकीको २६आँै साधारणसभाको उद्घाटन गर्दै उहाँले अबको पर्यटन गुजारा चलाउने खालको नभई नयाँ सम्भावनाको खोजी गरेर प्रतिष्पर्धात्मक रूपमा अघि बढ्ने खालको हुनुपर्ने बताउनुभएको हो ।
मन्त्री लम्सालले सरकारसँग गुनासो गरेर मात्र नभई आफ्नो क्षेत्रमा दक्ष जनशक्ति तयार गरेर सेवा दिन पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अब सरकारसँग गुनासो गर्नेतिर मात्र नलाग्नुस्, यस क्षेत्रमा दक्ष जनशक्तिको निकै अभाव छ, पर्यटकलाई कसरी उत्कृष्ट सेवा दिएर खुशी बनाउन सकिन्छ, त्यतातिर जुट्नुस् ।” उहाँले व्यवसायीलाई सहयोग गर्न सरकार तयार रहेको पनि बताउनुभयो ।
मन्त्री लम्सालले पोखरा प्रकृति, संस्कृति र साहसिक गतिविधिको हब भएकाले पर्यटनको दीर्घकालीन विकासका लागि प्रदेश सरकारले योजनाबद्ध विकास कार्यक्रम तय गरेको उल्लेख गर्दै आन्तरिक उडानबाट पर्यटन प्रवद्र्धन गर्न र पूर्वाधार विकासमा पनि सहयोग गर्न सरकार प्रतिबद्ध रहेकोे बताउनुभयो । उहाँले भन्नुभयो, “हामी व्यवस्थित योजनाका लागि गृहकार्यमा छौँ, निजी क्षेत्रसँग सहकार्य र समन्वय गरेर अघि बढ्छाँै ।”
मन्त्री लम्सालले पर्यटन क्षेत्रलाई व्यवस्थित गराउन व्यवसायीबीचको एकता पनि आवश्यक रहेको आँैल्याउँदै एकीकृत तथ्याङ्कका लागि व्यवसायीले सही सूचना दिन नखोजेको स्पष्ट पार्नुभयो । “वार्षिक १० लाख पर्यटक आउँछन् भन्ने अनुमान छ तर सही सूचना लिन अझै समस्या छ । व्यवसायीले नै पर्यटकको सही सूचना दिन आनकानी गर्छन्”, उहाँले भन्नुभयो, “श्रममा जोडिएर सरकारलाई नछली नढाँटी वैधानिक बाटोबाट अघि बढ्ने सके समृद्धि हासिल हुन्छ ।”
मन्त्री लम्सालले विसं २०३५ मा सरकारले पर्यटन नीति ल्याएर अघि बढेको र सङ्घीय पर्यटन ऐन आएपछि सो ऐनसँग नबाझिने गरी प्रदेश सरकारले पर्यटन नीति ल्याउने तयारीमा रहेको जानकारी दिनुभयो ।
नाट्टाका अध्यक्ष अच्युत गुरागाईँले कोभिड–१९ का कारण द्वन्द्वको समयमा भन्दा बढी पीडा व्यवसायीले खेपिरहेको बताउँदै सरकारले पर्यटनमैत्री नीति बनाएर व्यवसायीलाई साथ दिन आग्रह गर्नुभयो । लुम्बिनी विकास कोषका सद्भावना दूत एवं मायादेवी सुत्केरी मार्गका परिकल्पनाकार विक्रम पाण्डेले लुम्बिनीको इतिहासलाई उघारेर अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसारको काम गरिएको बताउँदै लुम्बिनीमा स्वर्ण युगको शुरुआत भएको र यसको विकाससँगै पोखराको पर्यटनमा थप विकास हुने उललेख गर्नुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिड–१९ पछिको विषम परिस्थितीमा पर्यटन प्रवद्र्धनका लागि सरकारले ठोस कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिदैं कम्पनी रजिष्ट्रारको कार्यालय प्रदेशमा नहुँदा व्यवसायीले झन्झट व्यहोरिरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा सुरक्षित र खुला छ भन्ने सन्देशसहित संस्थाले आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित छिमेकी जिल्ला भ्रमणबाट शुरुआत गरेको जानकारी दिदैं पोखरा र नेपागञ्ज हवाई उडानबाट जोड्न पनि नाट्टा सफल भएको बताउनुभयो ।
नाट्टा प्रदेश नं १ का अध्यक्ष उदय श्रेष्ठ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद अधिकारी (सागर), परिषद्का पूर्वअध्यक्ष ओम पाण्डे, सुलीकोट गाउँपालिकाका उपप्रमुख सनमाया गुरुङलगायतले पर्यटन क्षेत्रका सम्भाव्यता, चुनौती आगामी योजनाका बारेमा क्षेत्रगत धारणा राख्नुभएको थियो ।
सो अवसरमा मनहरा सिग्देल स्मृति पुरस्कारबाट संस्थाका कर्मचारी देवराज देवकोटालाई नगद रु १० हजार र संस्थागत योगदानसहित विभिन्न जिम्मेवारी पूरा गर्नुभएका सदस्यलाई संस्थाले सम्मान गरेको संस्थाका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरिराम अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका महासचिव कमला गिरीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।