चैत ७, कोलकाता । ४० वर्षदेखि भारतीय जेलमा रहेका इलामको माई नगरपालिका–१०, लुम्बाकका दुर्गाप्रसाद तिम्सिना आज छुट्ने भएका छन् ।
कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र्र रोयले बुधबार उनलाई भाइ प्रकाशचन्द्र तिम्सिनाको जिम्मा लगाएर छाड्न आदेश दिएका थिए ।
दाजु दुर्गाप्रसादलाई लिन शुक्रबार बिहान पुगेका काकाको छोरा भाई पुगीसकेका छन् ।
शुक्रबार बिहान साढे १० बजे प्रकाशचन्द्र महावाणिज्य दूतावासका सेक्रेटरी थापासहित अदालत पुगेका हुन् । अदालतका रजिस्ट्रारले उनलाई एउटा सम्झौतामा हस्ताक्षर गराएका छन् । जहाँ लेखिएको थियो, ‘हरेक ६ महिनामा दुर्गाप्रसादको मानसिक स्थितिबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनू । वाणिज्य दूतावासले अदालतलाई जानकारी गराउनेछ ।’
दुर्गाप्रसादको ‘दिमागी हालत’ ठीक भएपछि पुनः अदालतमा उपस्थित गराउनुपर्ने सर्तसमेत अघि सारेको छ । प्रकाशचन्द्रका अनुसार दाजुको दिमागी हालत ‘सही सलामत’ नै छ । ‘अदालतले किन दिमागी हालत बिग्रिएको भनिरहेको छ, बुझ्न सकेको छैन । उनलाई ४० वर्षभन्दा अघिका सबै कुरा थाहा छ, यस्तो मान्छेको दिमागी हालत कसरी कमजोर हुन सक्छ ?,’ उनले भने ।
दुर्गाप्रसादको मुद्दा हेरिरहेका अधिवक्ता हिरक सिन्हाले उनी शारीरिक रूपमा ठिकै भए पनि मानसिक रूपमा कमजोर रहेको जनाए ।
फैसलाका अनुसार ४० वर्षदेखि जेल बसेका दुर्गाप्रसादको शारीरिक र मानसिक दुवै स्थिति कमजोर छ । जेलमा पाएको चरम यातना र कुटपिटबाट उनको ज्यान कमजोर देखिन्छ । अदालतले उनलाई तारिखमा छाड्ने आदेश त गर्यो, तर क्षतिपूर्तिबारे मौन देखिएको छ ।
भारतीय संविधानअनुसार एउटा हत्या घटनाका आरोपीलाई बढीमा १४ वर्ष जेलमा राख्ने प्रावधान छ । तर, उनी त ४० वर्ष जेल बसिसकेका छन् । सन् १९८० मे ११ तारिखमा उनीविरुद्ध दार्जिलिङ पुलिस कार्यालयमा हत्या गरेको आरोपमा जाहेरी दर्ता भएको थियो । दार्जिलिङका नैने घले नामका व्यक्तिले श्रीमती जनु गुरुङको हत्यामा दुर्गाप्रसादलाई जेल पठाएको देखिन्छ । त्यसपछि घले यो मुद्दाको सम्पर्कमै नआएको थाहा पाइएको छ ।