चैत्र ५ काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली महाठग भएको टिप्पणी गर्दै आफूलाई नै सिध्याउने षड्यन्त्र गरेको दाबी गरेका छन् ।
सिन्धुली पुगेका प्रचण्डले पार्टी एकताको मर्म सही भए पनि ओलीका कारण यो अवस्था आएको बताए ।
उनले आफ्ना कार्यकर्ताहरुसँगको भेटघाटमा ओलीले ७० वर्र्षको राजनीतिक उपलव्धिमाथि हमला गरेको पनि बताए ।
केपी ओली मान्छेचाहिं महाठग रैछन् । राजनीतिमा मान्छेले अलिअलि जालझेल त गर्छन् तर यस्तो ठग त हुँदैनन् । हस्ताक्षर धेरै गरे तर एउटा पालना गरेनन् । पार्टी एकता हामीले नै गराइयो फेरी फुट्ला कि भने हामी नै थरथर काँपियो । पार्टी फुट्ला भनेर उदारतातिर लागियो, फकाएर हुन्छ कि भनेर केही समय फकाउन पनि लागियो । मलाई प्रधानमन्त्री चाहिएन पाँचै वर्ष तिमी नै खाउ पनि भनियो । तर उनले चाही कुनै कुरा पालना गर्ने कुरा भएन् । बरु उल्टै विदेशी प्रतिक्रियावादीसँग मिलेर संविधान नै खाने, संघीयता नै खान खोजे ।’ प्रचण्डले भने ।
तीन वर्षमा ओलीले प्रचण्डलाई सिध्याउने खेलमा लागेको भन्दै उनले अब साच्चिकै लड्नु पर्छ भनेर १९ पृष्ट लामो बम हानेको र त्यसले महामारी ल्याएको टिप्पणी उनले गरे ।
संघीयता, समावेशीता, धर्मनिरपेक्षता र गणतन्त्र माओवादीले लडेर स्थापित गरेको भन्दै यसलाई समाप्त पार्न प्रचण्डलाई सिध्याउन खोजिएको उनको दाबी छ ।