चैत्र ३ काठमाडौं । एमाले भित्र बढेको अन्तरविरोधका कारण खनाल नेपाल समुहले भोली अलग्गै राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएका छन् । त्यसमा २ हजार बढी कार्यकर्ता सहभागी हुने आज पत्रकार सम्मेलनमा जानकारी दिईयो । भेलालाई झलनाथ खनाल र माधव कुमार नेपाल लगायतकाले संवोधन गर्नेछन् ।
अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयका विरुद्धमा नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले चैत ४ र ५ गते भेला बोलाएका हुन् ।
आज आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सम्पूर्ण तयारी पुरा भएको भन्दै भेलामा पार्टी केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र पेश गर्दै पारित गरिने जानकारी दिए ।
पत्रकार सम्मेलनमा एमाले स्थायी समिति सदस्य तथा नेता सुरेन्द्र पाण्डेले एमाले एकतावद्ध बनाउनुको साटो पार्टी एकताको महत्व घटाउन खोजेको अध्यक्ष ओलीमाथि आरोप लगाए ।
यसै गरी भट्टराईले प्रधानमन्त्रीले आज भोलीको भेलालाई नजर लगाउने भनेको जवाफ दिदै नजर नलगाई प्रमुख अतिथि भएर सहभागी हुन अनुरोध गरेका थिए ।