बहराइनका राजपरिवारका सदस्यसहितको टोली नेपाल आइपुग्यो

बहराइनका राजपरिवारका सदस्यसहितको टोली नेपाल आइपुग्यो

  • सोमवार, चैत्र २, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, २ चैत । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका सदस्यसहित १६ जनाको टोली आज नेपाल आइपुगेको छ ।

बहराइन राजपरिवारका सदस्यसहितको आरोही टोली विशेष विमानमार्फत आज काठमाडौँ आइपुगेको आरोहण व्यवस्थापन गरिरहेका सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिनुभयो । उक्त टोली साँझ ७ः३० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुगेको थियो । काठमाडौँको मेरियट होटलमा पाँच दिन क्वारेन्टिन बसेपछि गोरखा गएर त्यहाँ पनि पाँच दिनको बसाइपछि काठमाडौँ फर्कने छ । त्यसपछि आरोहणको प्रक्रिया सकेर आरोही टोली सगरमाथा आधारशिविर जाने कार्यतालिका छ ।

यसअघि आज बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै उक्त टोली त्यहाँको समयानुसार बिहान सवा ९ बजे बहराइन डिफेन्स फोर्सको सैन्य विशेष विमानमार्फत नेपाल प्रस्थान गरेको जनाएको थियो । आरोही टोलीमा बहराइन राजपरिवारका सदस्य शेख मोहम्मद हमाद, मोहम्मद अल खालिफासहित बहराइन रोयल गार्ड, डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी र तीन जना बेलायती नागरिक पनि छन् । यो टोली करिब ८० दिन नेपालमा रहनेछ ।

सो टोलीले गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित समागाउँका बासिन्दाका लागि कोरोना भाइरस विरुद्ध लगाइने दुई हजार डोज अस्ट्राजेनेका खोप समेत सहयोगस्वरुप प्रदान गर्नेछ । टोलीलाई बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगको द्वितीय सचिव अरुणा घिसिङलगायत राजदूतावास परिवारले भेटेर सफलताको शुभकामना दिनुभएको थियो । त्यस्तै बहराइनी पक्षबाट कमान्डिङ अफिसर अफ द रोयल गार्ड ट्रेनिङ स्कुल, ब्रिगेडियर साद घार्ली मुबारकले पनि शुभकामनासहित विदाइ गरेको जनाइएको छ ।

टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पीक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले पर्वतारोहण सम्बन्धमा बहराइनबाट भैरहेका पछिल्ला प्रयासबाट नेपाल र बहराइनबीचको सम्बन्ध थप प्रगाढ बन्दै गएकोमा खुशी व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ