वीरगन्ज (पर्सा), २८ फागुन । हिन्दुहरुको महान पर्व होली नजिकिएसँगै वीरगन्जका नाकाहरुमा अहिले व्यापक तस्करी बढेको छ । पर्सामा प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे कार्यभार सम्हालेदेखि बन्द रहेका तस्करीहरु अहिले खुलेयाम हुन थालेको छ । वीरगन्जको इनर्वा, भकुवा, छोटी भन्सार, छपकैया, नगवा लगायतका सम्पूर्ण नाकाहरुबाट अहिले व्यापक तस्करी बढेको छ । भैसीको तस्करीदेखि कबाडी तथा कपडाको तस्करीको लाइन खुलेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटेका क्राइम टोली र सीमा खटेका प्रहरी चौकीका इन्चार्ज तथा सशस्त्र प्रहरीहरुको मिलोमतोमा अहिले विहान, दिउँसो, बेलुका तथा रातिको समयमा पनि तस्करी हुने गरेको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयमा खटेका सशस्त्र प्रहरीको मिलोमतोमा रातिको १२ बजे ‘मोछु’, विवेक, विशाल लगायका कुख्यात तस्करहरुको सामान खुलेयाम नेपाल भित्रि रहेको छ । जिल्ला शिक्षा कार्यालयमा रहेको सशस्त्र बेस क्याम्पका सशस्त्र प्रहरीका इन्चार्ज, नेपाल प्रहरीका क्राइम इन्चार्जको मिलोमतोमा उक्त क्षेत्रबाट तस्करी हुने गरेको छ भने नगवा इनर्वा नाकाबाट दिनदहाडै ठेलामा कपडाहरु तस्करी हुने गरेको छ । भारतबाट साँझ तथा रातिको समयमा तस्करी गरिएका सामानहरुलाई तस्करहरुले वीरगन्जको रेशमकोठी, रेल्वे रोड, नगवा लगायतका स्थानहरुमा बनाएको गोदाममा राख्ने अनि त्यहाँबाट दिनदहाडै बोरामा प्याक गरेर आदर्शनगर मुख्य सडक हुँदै घडिअर्वा क्षेत्रमा रहेका ट्रान्सपोर्टसम्म पु¥याउने गरेका छन् । उक्त कपडाहरु नेपालको विभिन्न सहररुमा पुग्ने गरेको छ । केही दिनअघिसम्म मात्रै प्रहरी प्रमुखको आगमनलाई मध्यनजर गर्दै तस्करहरुसँग प्रहरी चौकीका इन्चार्जहरुको मिलोमतो नभएकोले केही दिन तस्करी कार्य रोकिएको थियो तर हाल आएर मिलोमतो भएपछि पुनः तस्करी कार्य शुरु भएको छ ।
खास गरेर छोटी भन्सार, भकुवा नाका हुँदै भारतबाट तस्करी गरिएका सामानहरु जिल्ला शिक्षा समन्वय समिति हुँदै आदर्शनगर, घडिअर्वा क्षेत्रमा प्रवेश गर्ने गरेको छ । तस्करहरुले भकुवा नाका इन्चार्ज तथा सशस्त्र प्रहरी इन्चार्ज र क्राइमका टोलीलाई महिनावारी बुझाई खुलेयाम रुपमा तस्करी गर्ने गरेका छन् । यतिमात्रै होइन, तस्करहरुले दिएको महिनावारी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका इन्चार्जसम्म पुग्ने गरेको बताइएको छ । नयाँ प्रहरी प्रमुख आउने वित्तिकै तस्करीमा कडाई हुने अनि सेटिङ्ग भएपछि पुनः तस्करी हुने हुने वीरगन्जका तस्करहरुको पुरानौ बानी नै हो । अहिले उक्त क्षेत्रबाट कपडा, हार्डवेयर लगायतका सामानहरु खुलेयाम रुपमा भित्रिने गरेको छ । प्रहरीले देखाउनका लागि ससाना सामान लिएर आउनेहरुलाई समातेर भन्सार बुझाउने गरेतापनि मिलोमतामो आउने गरेको सामानलाई कसैले रोकटोक गर्ने गरेको छैन ।