सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी, केही दिनभित्रै उपत्यकावासीका घर घरमा मेलम्चीको पानी आउछः प्रधानमन्त्री ओली

सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी, केही दिनभित्रै उपत्यकावासीका घर घरमा मेलम्चीको पानी आउछः प्रधानमन्त्री ओली

  • शनिबार, फाल्गुन २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

२२ फागुन, काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट परीक्षणका लागि सुरुङमा पठाइएको पानी सुन्दरीजलमा खलालिएको छ। शनिबार साँझ सुन्दरीजलमा आइपुगेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकनपछि बटम थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो ।  सो क्रममा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही दिनभित्रै काठमाडौंवासीका घर घरका धारामा मेलम्चीको पानी झर्ने बताएका छन् । उनले   भने, ‘काठमाडौंवासीका लागि अब काठमाडौंमा पानी झर्‍यो । अहिले खोलाबाट पानी छाड्यौं । अब प्रशोधन गर्ने पोखरीहरुबाट फिल्टर प्रशोधित गरेर लैजान्छौं । अहिले पानी आयो काठमाडौंमा पानी झर्‍यो भन्ने हो । केही दिनभित्र तपाईंका धाराहरुमा पानी वितरण हुन्छ ।’

लामो समयदेखि जारी वाग्मती सफाइ अभियानमा पनि मेलम्चीको पानीले सहयोग पुग्‍ने विश्वास व्याक्त गर्दै प्रधानमन्त्री ओलीले २७ गतेको शिवरात्रीमा सफा पानीले नुहाउन पाइयोस् भन्ने कामना समेत गर्नुभएको थियो । पहिलो चरणमा काठमाडौंमा १५ हजार घरधुरीमा टेस्ट भइसकेको भन्दै प्रधानमन्त्री ओलीले दोस्रो चरणमा यांग्री र लार्केबाट पानी थपेपछि काठमाडौंलाई खानेपानी पुग्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘लामो समयको प्रतिक्षा अब पूरा भएका छन् । अब केही दिनभित्र तपाईंहरुको धारामा पानी वितरण हुनेछ ।’

फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा दोस्रो पटक सुरुङ परीक्षण थालेको छ।

आयोजनाको मुहान सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित अस्थायी बाँधबाट सुरु गरिएको सुरुङ परीक्षण दुई महिनासम्म गरिने छ । त्यसपछि प्रशोधन केन्द्र को थप दुई महिना परीक्षण गरेपछि मेलम्चीको पानी संघीय राजधानीमा वितरण सुरु गर्न सकिने आयोजनाले जनाएको छ। पहिलो चरणको पानी भने फोहोर भएकाले बागमतीमा मिसाइएको छ ।

१२ दिन अगाडि खानेपानीमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कन्ट्रोल रुममा रहेको स्विच अन गरी पानी सुरुङतर्फ पठाएका हुन्।

करिब दुई दशकअघि सुरु भएको आयोजनाको म्याद पटक–पटक सार्दै अस्थायी बाँध बनाएर पानी सुन्दरीजल ल्याइएको हो। अम्बाथानबाट २६ किमि सुरुङ निर्माण गरी पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी सुन्दरीजल ल्याउन लागिएको छ। परीक्षणका क्रममा प्रतिसेकेन्ड २ सय ६० लिटरका दरले पानी सुरुङमा पथान्तर गरिएको छ।

यसअघि असार २१ गते पहिलो पटक सुरुङ परीक्षण गरिएको थियो। त्यसको नौ दिनमा असार ३० गते १७ नम्बर गेटको ढोका फुटेर आयोजनाका कर्मचारीको मृत्यु भएको थियो। उक्त दुर्घटनापछि प्राविधिक रूपमा अध्ययन गरी पूर्णरूपमा मर्मत गरेर सुरुङ परीक्षण गरिएको आयोजनाले जनाएको छ।

आयोजनाको काम सन् २०१३ सेप्टेम्बरमा सक्ने गरी २००९ सेप्टेम्बरमा सुरुङ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिइएको थियो। उक्त कम्पनीले ठेक्का तोडेपछि इटालियन कम्पनीलाई दिइएको थियो। उसले पनि अन्तिम समयमा सम्झौता तोडेपछि पुनः ठेक्का गरी चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको फिनिसिङ सकेपछि आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। त्यसको सात वर्षपछि मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी भएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ