फागुण २१ काठमाण्डौं । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच वार्ता भएर ३ बुँदे सहमति भएपछि नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा भएका छन् । उनी काभ्रेबाट छुटेका हुन् । परिवारका सदस्य, पार्टीका नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए । प्रहरीले सुरक्षा सहित उनलाई काठमाडौं पठाएको छ ।
नेता बास्तोलाले राजनैतिक ढंगले समाधान गर्न खोजेकाले आफूहरु वार्ताप्रति सकारात्मक भएको बताए । उनले कम्युनिस्ट पार्टीहरुबीच एकताको सम्भावना पनि भएको बताए ।
सरकारसँग भएको सहमतिपछि नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटिसकेको छ । विभिन्न कारागार र हिरासतमा रहेका नेकपाका कार्यकर्ता रिहा गर्ने र मुद्दा खारेजी गर्ने पनि सहमतिमा उल्लेख छ ।
उनीसँगै अब हिरासतमा रहेका र धरौटी बुझाउन नसकेका नेता कार्यकर्ताहरु पनि आजै देखि छुट्न थाल्ने छन् भने पुर्पक्षमा रहेका नेता कार्यकर्ताहरु प्रकृया पुर्याएर रिहा हुने भएका छन् ।