फागुण २० काठमाण्डौं । लगातार ओरालो लागेको शेयर बजारलाई आजको बृद्धिले केही सहयोग पुगेको छ । निरन्तर ओरालो लागेर लगानीकर्तामा निराशा छाउन थालेका बेला बजारले आज केही आशा जगाएको हो । साताको अन्तिम कारोबार दिन आज नेप्से ९० अंकले बढेको छ ।
बिहीबार नेप्से परिसूचक ९०.६७ अंक बढेर २५०६.६८ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १४.६७ अंक, फ्लोट इण्डेक्स ६.२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५४ अंक बढेको छ।
पछिल्ला कारोबार दिनहरुमा करेक्सन भइरहेको नेप्से, यस दिन उकालो लागेको विश्लेषकहरु बताउँछन्। अहिले नेप्से बुलिश ट्रेण्डमा रहेका कारण पछिल्ला केही दिनहरुको करेक्सनपछि अब बजार पुनः उकालो लागेको उनीहरुको भनाइ छ।
यसका साथै यस दिनको बजार बढाईलाई कतिपय लगानीकर्ताहरुले राजनैतिक कारण पनि दिएका छन्। लामो समयदेखि विपक्षमा रहेको बिप्लव समूहसँगको वार्ता सफल भएपछि, त्यसको सकारात्मक प्रभाव बजारमा परेको विश्लेषण पनि यस दिन बजारमा भएको छ।
नेप्से परिसूचक उच्च अंकले उकालो लागेपनि यस दिन कारोबार रक मभने ६ अर्बमा नै सीमित भएको छ। यस दिन २०६ कम्पनीको ६५ हजार १७४ पटकको कारोबारमा ६ अर्ब ५ करोड ८१ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचक बढेका छन्। कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक को ५३ करोड २३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
बिहीबार ८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन चन्द्रागिरी हिल्स, लिबर्टी इनर्जी, सूर्योदय लघुवित्त, किसान लघुवित्त, इन्फिनिटी लघुवित्त, हिमालय पावर पार्टनर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र नेशनल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।