पर्सा १६ फागुन । नेपाल आयल निगमको ट्याँकरबाट पेट्रोलियम पदार्थ चोरी हुने घटनाक्रम अझै रोकिएको छैन । भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएको ट्याँकरबाट पहिला सीमावर्ती क्षेत्रको नेपालको सहरमा पेट्रोलियम पदार्थको चोरी हुन्थ्यो भने अहिले भारतीय सीमावर्ती सहरहरुमा चोरी भइरहेको छ । स्थान मात्रै परिवर्तन भयो तर चोरी गर्ने मनसाय परिवर्तन भएन् ।
भारतबाट आयातित नेपाल आयल निगमको ट्याँकरबाट भारतमै पेट्रोलियम पदार्थ चोरी भइरहेको रहस्य खुलेको छ । भारतको बरौनीबाट पेट्रोलियम पदार्थ लोड गरेर ल्याउने गरेको नेपाली ट्याँकरबाट भारतीय सीमावर्तीको विभिन्न स्थानहरुमा ट्याँकरबाट पेट्रोल चोरी गर्ने गरेको पाइएको छ । ट्याँकरको चालक, सह चालक सहितको मिलोमतामो नेपाल आयल निगमको गाडीबाट सीमावर्ती सहर रक्सौल स्थित रेल्वे लाइनको छेउछाउको वस्तीहरुमा ट्याँकर पार्किङ्ग गरेर पेट्रोल चोर्ने गरिएको हो ।
नेपाल सरकारले भारतबाट पेट्रोलियम पदार्थ खरिद गरेर ल्याउने गरेतापनि भारतभन्दा नेपालमा पेट्रोलको मूल्य कम रहेको कारण नेपाल सरकारले खरिद गरेको ट्याँकरबाट नै पेट्रोल चोरी हुने गरेको छ । रक्सौल स्थित रेल्वे लाइनको छेउछाउँमा रहेको ससाना बस्तीमा ट्याँकर प्रवेश गराई पेट्रोल झारेर त्यही ठाउँमा नापेर विक्री वितरण समेत गर्ने गरिएको छ । विगतमा वीरगन्ज स्थित पेट्रोल पम्पका साहुहरुले रक्सौल स्थित भारतीय आयल कर्पोरेशनको डिपोबाट पेट्रोलियम पदार्थ लोड गरि भन्सार प्रक्रिया पुर गरि सिधै आफ्नो पम्पमा ट्याँकर ल्याउने गरेकोमा यही जनवरी १६ तारेखदेखि त्यहाँबाट पेट्रोलियम पदार्थ लोड गर्ने कार्य बन्द भएपछि बरौनीबाट पेट्रोलियम पदार्थ आउने गरेको छ ।
नेपाल सरकारद्वारा मान्यता प्राप्त (पि.डि.ओ.) प्रोडक्ट डेलिभरि अर्डर काजगात लिएर पुगेका ट्याँकरुहरु मात्रै बरौनीबाट पेट्रोल लोड गर्न पाउने र त्यहाँबाट हिँडेको ट्याँकर सिधै नेपाल आयल निगमको प्रादेशिक कार्यालय अमलेखगन्ज स्थित आउनुपर्नेमा भारतीय सीमावर्ती सहर न छिचोल्दै रक्सौल स्थित रेल्वे स्टेशनको विभिन्न ठाउँमा नेपाल आयल निगमको ट्याँकरबाट पेट्रोल चारी गर्ने गरिएको पाइएको छ । विगत लामो समयदेखि नै यो चोरीको घटनाहरु हुँदै आएकोमा त्यसलाई न्यूनीकरण गर्नका लागि नेपाल र भारत सरकारको संयुक्त प्रयासमा अमलेखगन्ज – मोतिहारी पेट्रोलियम पाइपलाइन आयोजना शुरुवात गरिएको थियो । पाइपलाइन मार्फत अहिले डिजेल मात्रै आयात हुने गरेको छ भने पेट्रोल आयातको लागि पनि गृहकार्य भइरहेको छ ।
नेपाल भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३५ देखि ४२ रुपैयाको फरक छ । नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैया ५० पैसा छ भने भारतमा १४७ रुपैया ७९ पैसा नेपाली रुपैया रहेको छ । यसैगरि डिजेलको मूल्य नेपालमा प्रतिलिटर ९५ रुपैया ५० पैसा रहेको छ भने भारतमा १ सय २६ रुपैया ९३ पैसा प्रतिलिटर रहेको छ । नेपाल भन्दा भारतमा पेट्रोल प्रतिलिटर ३५ रुपैया २९ पैसा बढि छ भने डिजेल ४१ रुपैया ४३ पैसा बढि रहेको छ । जसले गर्दा भारतबाट नेपाल सरकारले किनेको पेट्रोलियम पदार्थ पुनः भारततर्फ नै तस्करी पनि भइरहेको छ ।
पर्सा, बारामा १ सय १४ वटा पेट्रोल पम्पहरु संचालनमा छन् भने सीमावर्ती क्षेत्रको वीरगन्ज महानगरपालिका क्षेत्रमा २० देखि २५ वटा पेट्रोल पम्पहरु संचालनमा रहेका छन् । खास गरेर सीमावर्ती क्षेत्रमा संचालित नेपाली पेट्रोल पम्पहरुबाट तस्करहरुले गिलेनमा पेट्रोलियम पदार्थ किनेर भारतमा तस्करी गर्ने गरेका छन् भने कतिपयले भारतीय नम्बरको मोटरसाइकलमा फुल ट्याँकी गरेर भारतमा त्यही पेट्रोल विक्री गर्ने गरेका छन् । विहानदेखि बेलुकासम्म सीमावर्ती क्षेत्रको नेपाली बजारमा रहेको पेट्रोल पम्पहरुमा ग्यालिन बोकेर तस्करहरुले पेट्रोलियम पदार्थ किन्नका लागि पुग्ने गरेका छन् ।

यसबारे नेपाल आयल निगम शाखा कार्यालय वीरगन्जका प्रमुख मनोज कुमार ढकालसँग बुझ्दा पेट्रोलिम पदार्थ किन्ने र आयात गर्ने सबै कार्य प्रादेशिक कार्यालयले हेर्ने गरेको कारण आफूले केही भन्न नमिल्ने बताए । उनका अनुसार भारतको बरौनीबाट लोड भएर आएको ट्याँकरबाट भारतीय सीमावर्ती सहरमा कसरी चोरी भइरहेको छ, त्यो उपल्लो स्तरका कर्मचारीहरुको पहलमा यसलाई न्यूनीकरण गर्नुपर्ने बताए ।
यसबारे नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगन्जका प्रमुख भरत प्रसाद रेग्मीले विगतमा केही दिनअघिसम्म पेट्रोलियम पदार्थको चोरी हुने गरेकोमा विगत तीन महिना यतादेखि चोरीको घटना न्यूनीकरण भएको दाबी गरे । उनका अनुसार तीन महिनायताको तथ्याँक अनुसार नेपाली ट्याँकरबाट कुनै किसिमको पेट्रोलियम पदार्थको चोरी नभएको बताए । केही दिन अघिसम्म मात्रै भारतीय सीमावर्ती सहर लगायत विभिन्न स्थानमा ट्याँकरबाट पेट्रोल चोरी भइरहेको घटनाबारे आफूहरुलाई जानकारी आउने वित्तिकै एक दर्जन भन्दा बढि ट्याँकरका चालकलाई १ वर्षसम्म आयल निगमभित्र प्रवेश गर्न नदिने तथा अन्य विभिन्न किसिमको कारवाही समेत गरिएको बताए ।