काठमाडौं, १६ फागुन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीलाई बिदाई गरिएको छ । आइतवार विभागकै सभाहलमा आयोजित कार्यक्रममा सुवेदीलाई बिदाई गरिएको हो ।
साथै आजै विभागका नयाँ महानिर्देशक प्रकाश पौडेललाई स्वागत गरिएको छ । एउटै कायैक्रममा सुवेदीको बिदाई र पौडेललाई स्वागत गरिएको हो ।
अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगबाट सरुवा भएर विभाग आएका पौडेललाई महानिर्देशक सुवेदीले टिका र खादा लगाएर स्वागत गरेका थिए भने सुवेदीलाई पौडेलले बिदाई गरेका थिए ।
१५ महिना १६ दिन विभागको नेतृत्व गरेका सुवेदी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा भएका हुन् ।
विदाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महानिर्देशक सुवेदीले कोरोनाका कारण मुलुकमा भएको लकडाउन तथा निषेधाज्ञाको अवधिमा समेत विभागबाट भएको निरन्तरको अनुगमन तथा निगरानीका कारण बजारमा आपूर्ति प्रणालीमा समस्या आउन नदिएकै कारण उपभोक्ताहरुले अभाव खेप्नु नपरेको बताए । उनले आफ्नो कार्यकालमा गरिएका १५ प्रमुख कामको फेहरिस्त पनि प्रस्तुत गरेका थिए । जसमा मापदण्ड, कार्यविधि र आचार संहिता निर्माण पहिलो नम्बरमा रहेको छ ।
महानिर्देशक र विभागकै अन्य अनुभवी कर्मचारीलाई समावेश गरेर आफ्नै संयोजकत्वमा ४ वटा कार्यदल गठन गरीएको जनाईएको छ । आचारसंहिता र कार्यविधि मन्त्रिस्तरबाट स्वीकृत समेत भै २०७७ कार्तिकबाट प्रयोगमा आएका छन् भने अत्यावश्यक वस्तुको सूचि सम्वन्धी काम भने अन्तिम चरणमा रहेको छ ।
यस्तै अन्य प्रमुख कामहरुमा सिक्ने र बुझ्ने अवसरको सिर्जना, लकडाउन तथा निषेधाज्ञाको अवधिमा समेत निरन्तर खटाई, अधिकारको प्रयोगमा साझेदारी, अप्ठेरो परिस्थितिमा आपूर्ति सहजीकरण, कार्यालयको काममा सूचना प्रविधिको प्रयोग, खानेपानीको विक्री वितरणको नियमन र प्रत्यक्ष विक्री सम्वन्धी कानूनको कार्यान्वयन, आपूर्ति प्रणालीमा अन्य सुधारको पहल, इ विजिनेस सम्वन्धी कानूनको मस्यौदा, गुनासो सुनुवाइ र वाणिज्य प्रशासनमा अनलाइन सफ्टवेयरको प्रयोग, रिलेवलिङ मुद्दाको अनुसन्धान र अभियोजन, बैंक काउन्टरसहितको सेवा, सेक्युरिटि अफिसर र बगैँचा व्यवस्थापन, निजी क्षेत्रसँगको सहकार्यमा हेल्प डेस्क सञ्चालन र कानूनवमोजिम अधिकार हस्तान्तरणको शुरुवातलाई समेटिएको छ ।
नवनियुक्त महानिर्देशक पौडेलले भने इमान्दारीतापूर्वक काम गर्न निर्देशन दिदै कहि कतै गलत उदेश्यका साथ कार्य गरेको गराईएको पाईए तत्काल एक्सन लिने बताए ।