पुष ५ मा संसद विघटन भए यता अदालतबाट संसद पुनस्थापना नहुने कुरामा ढुक्क देखिएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिराटनगरमा फरक रुपले प्रस्तुत भए । उनको समुहले आयोजना गरेको शक्ति प्रदर्शनपछिको जनसभामा उनले यदी सेटिंग गरेर संसद पुनस्थापना भए फेरी जोड घटाउको सरकार हुने, फेरी अस्थीरता आउने भन्दै उल्टै आन्दोलनको कुरा गरे । जब कि अदालतमा सेटिंग गरेको भन्दै प्रचण्ड माधव समुहले नै बरु प्रधानमन्त्री ओलीमाथि शंका गर्दै आएका थिए ।
संवैधानिक आयोगहरुमा नियुक्तिमा प्रधानन्यायधीशलाई पनि भागवण्डामा कोटा दिईएको र उनले संसद विघटनको पक्षमा ओलीलाई मद्धत पुग्ने गरी फैसला गराउलान कि भन्ने कुराले अरु झस्किएका थिए । र उनीहरुले सर्वोच्चले संसद पुनस्थापित गर्ने र नगरे आन्दोलनको बलमा गर्ने बताउदै आएका थिए ।
यही बेला प्रधानमन्त्रीले फेरी त्यस्तै शंकाको कुरा गर्नुले अदालतले फैसला गर्ने मिति नजिकिदै जादाँ दुबै पक्ष संसयमा देखिन थालेको छ ।
सर्वोच्चमा वादी प्रतिवादी र एमीकस क्युरीले समेत बहस गरीसकेकाले ढिलोमा अबको सात दिन भित्र सर्वोच्चले संसद पुनस्थापना गर्ने या निर्वाचनमा जाने बाटो खोलिदिने हो त्यो टुंगो लाग्ने छ ।
यही मिति नजिकिँदै गर्दा पेरिसडाँडामा बैठक गरेका प्रचण्ड माधव समुह परिस्थिति तरल भएको र जतिखेर जे पनि हुन सक्ने भन्दै तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिईरहेका छन्, अर्कोतिर ओली पनि शसंकित हुनु आश्चर्यजनक छ ।
यसबीचमा धेरै जसो कानुन व्यवशायीहरु सर्वोच्चले संसद पुनस्थापित गर्ने कानुनी र संवैधानिक तर्कहरु गरीरहेका छन , तर निर्णय नआँउदा सम्म भन्न सकिने अवस्था भने नरहेको स्वयं उनीहरुको बुझाई छ ।
नेकपाको दुबै समुह कानुनी रुपमा विभाजित नभईसकेको अवस्थामा पार्टीको आधिकारीकता र निर्वाचन चिन्हका लागि पनि संघर्ष गरीरहेका छन् । चुनावमा जाँदा आफ्नो जीत ठान्ने ओली र संसद पुनस्थापित हुँदा आफूहरुको जीत भएको ठान्ने प्रचण्ड माधव समुह दुबैका लागि अबको सात दिन भित्र के के हुने हो निकै पिरलो पर्ने देखिन्छ ।