फागुण ७ काठमाडौं । आज प्रजातन्त्र दिवस स्वदेश तथा विदेशस्थित विभिन्न नियोगहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मानमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
२००७ सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको संयुक्त प्रयासमा १०४ वर्षको जहाँनिया राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गरिएको थियो ।
प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठको विसं १९९७ माघमा राणा शासकहरुले क्रुरतापुर्वक हत्या गरेका थिए ।
प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई तत्कालीन राणा शासकहरुले मृत्युदण्ड दिएका थिए ।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।
जहानीया राणा शासनको अन्त्य भए पछि १७ सालमा पुनः जननिर्वाचित सरकारलाई अपदस्त गरेर राजा महेन्द्रले कु गरी देशमा फेरी निरंकुश पञ्चायती व्यवस्था शुरु गरेका थिए ।
त्यसका बिरुद्ध पनि विभिन्न आन्दोलन हुँदै पुनः ४६ सालमा शक्तिशाली जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्वहाली भएको थियो ।
तर ५२ सालमै माओवादीले जनयुद्ध शुरु गरे पछि त्यो बहुदलीय प्रजातन्त्र पनि धरापमा पर्यो र ६२-६३ सालमा सात दल र माओवादीको सहकार्य पछि भएको शक्तिशाली जनआन्दोलन भयो । जसले २५० बर्ष लामो राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको स्थापना गर्यो ।
यद्यपि, शासन व्यवस्था फेरीएर मुलुक गणतान्त्रिक भए पनि जनताको जीवन स्तरमा आधारभुत परिवर्तन आउन सकेको छैन ।
पछिल्लो समय पुष ५ मा संसद विघटन पछि फेरी पनि लोकतन्त्र, प्रजातन्त्रका लागि भन्दै दलहरु आन्दोलित बनेका छन् ।