फागुण ४ बैतडी । अपराध समाजमा यति धेरै बढीरहेको छ कि यसको नियन्त्रण निकै चुनौतीपूर्ण बनीरहेको छ । कलिलै उमेरमा किशोरहरु समेत आपराधीक कर्ममा सक्रिय हुन थालेका घटनाहरुले देखाईरहेका छन् ।
बैतडीमा भागरथी भट्टको बलात्कार तथा हत्यामा पनि नाबालक नै संलग्न भएको पाईएको छ । भागरथीलाई हत्या गर्ने दिनेश भट्ट कक्षा ११ मा पढ्ने १६ वर्ष उमेरका भएको पाईएको हो ।
उनले फुपुको बदला लिन भागरथीलाई हत्या गर्न पहिले देखि खोजेको तर नमिलेकाले अहिले हत्या गरेको बयान दिएको प्रहरी स्रोतको दाबी छ । उनलाई आज सार्वजनिक गर्ने तयारी छ ।
गएको माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्त दिनेशले प्रहरीले पटक पटक बोलाउदै केरकार गर्ने क्रममा उनले अपराध कबुल गरेका छन् ।
भागरथीलाई मार्न बाटो ढुकेर बसेको र उनले चाउ चाउ खाँदै आए पछि आफूले किताब फ्यालेर धक्का दिएको र त्यस पछि बेहोस् भए पछि बलात्कार गर्न खोजेको र घाँटी थिचेर मारेको दिनेशले स्वीकार गरेका छन् ।
बाटोबाट करीब ५० मिटर तल लवलेकमा भागरथीको शब फेला परेको थियो ।
त्यस पछि घरमै बसेर नियमित स्कुल जाँदै आउदै गरेका दिनेश माघ २३ गते घटनास्थलमा १५ मिनेट जति सहभागी भएर गोरु चराउन भन्दै हिँडेका थिए । सबै साथीहरु आन्दोलनमै हुँदा उनी गोरु चराउने बहानामा हिँड्नुको कारण बजार र गाँउभरी पुलिसले खतरा कुकुर ल्याउदैछ, त्यो कुकुरले सुँघेर अपराधी पत्ता लाउछ भनेर हल्ला चल्नु थियो । कुकुरले आफैलाई सुँघ्ने हो कि भन्ने डरले दिनेश गोठालो गएको स्वीकार गरेको पनि बयान दिएका छन् ।
डिआईजी उत्तम सुवेदीको नेतृत्वमा संघ, प्रदेश प्रहरी, सिआईबीको टोलीले अनुसन्धानको १३ औं दिनमा अपराधी पत्ता लगाउन सफल भएको हो ।