काठमाडौं माघ ३०। नेपालको सबै भन्दा ठुलो दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको वित्तीय विवरण सार्वजनिक भएको छ ।
नेपाल टेलिकमले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक (साउनदेखि पुस मसान्तसम्म) को वित्तीय विवरण अनुसार, खुद मुनाफा घटेको देखिएको छ ।
कम्पनीका अनुसार, यस त्रैमासमा ३ अर्ब २८ करोड रुपैयाँ खुद मुनाफा भएको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३३ प्रतिशत बढीले कमी हो । अघिल्लो वर्षको पुसमा नाफा ४ अर्ब ९३ करोड रुपैयाँ थियो। कम्पनीको मुख्य आम्दानीको स्रोत घटेको वित्तीय विवरणमा उल्लेख छ।
टेलिकमले ग्राहकलाई इन्टरनेट, मोबाइल र ल्यान्डलाइन सेवा बिक्री गरेर आमदानी गर्ने गरेको छ । यस्तो आम्दानी १.७४ प्रतिशतले घटेको छ। अघिल्लो पुसमा कम्पनीले यस्तो आम्दानी १८ अर्ब ३ करोड थियो। यसपाली १७ अर्ब ७२ करोड रुपैयाँ मात्र छ।
यसबाहेक अन्य आम्दानी पनि २६.६५ प्रतिशतले घटेको छ। बैंकमा राखेको ब्याज, अन्य कतै गरेको लगानीबाट आउने प्रतिफल हो यो। यस्तो आम्दानी ३ अर्ब ८८ करोडबाट २ अर्ब ८५ करोडमा झरेको हो। जसले गर्दा कुल आम्दानी ६.१६ प्रतिशतले घटेको छ। कुल आम्दानी २१ अर्ब ९२ करोडबाट २० अर्ब ५७ करोडमा आएको छ।
टेलिकमको चुक्ता पुँजी १५ अर्ब छ। यसमा कम्पनीका कर्मचारीसहित ८.४७ प्रतिशत सेयर सर्वसाधारणमा छ। कम्पनीको जगेडा कोषमा ८० अर्ब ३७ करोड छ।